Logo

एमालेले सरकार ढाल्नै पर्दैन, आफैं कुहिएर झर्ने स्थितिमा पुगिसक्योः लालबाबु पण्डित



काठमाडौं, २ असार । नेपका (एमाले) का प्रभावशाली नेता एवं पूर्व मन्त्री लालबाबु पण्डितले अहिले चर्चामा रहेको एमालेबाहेकका वामपन्थी दलहरुको समाजवादी मोर्चालाई ‘टुहुराहरुको मोर्चा’ को संज्ञा दिएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता पण्डितले डुब्न लागेका दलहरुले मोर्चा बन्दीबाट आफ्नो अस्तित्व रक्षाको प्रयत्न गरेको भन्दै टुहुराहरुको मोर्चाको संज्ञा दिएका हुन् ।

‘अरुले मानोस् या नमानोस्, म भन्दा ठूलो अरु कोही छैन भन्ने प्रवृत्तिले नेताहरुलाई कजोर बनाएको छ । समाप्तिको बाटोमा ल्याएको छ । बाँच्नको निम्ति डुब्न लागेको नदीबाट मलाई बचाईदेउ भनिरहेका छन् ।’ नेता पण्डितले भने, ‘त्यो बचाउने विकल्पका रुपमा यस्ता मोर्चाहरु, टुहुराहरुको मोर्चा । यो मोर्चाले कुनै गति पनि दिँदैन र राष्ट्रलाई निकास पनि दिँदैन । ती नेताहरुलाई अलिदिन रमाउनका निम्ति ठाउँमात्रै हुनेछ ।’

समयअनुरुप एमालेले अरु दलहरुसँग एकता र सहकार्य गरेपनि अहिलेका मोर्चासँग एकता र सहकार्य नहुने उनको दाबी छ । अहिले एमालेको ध्यान सरकार ढाल्न भन्दा पनि संगठन बलियो बनाउन तर्फ रहेको उनको भनाई छ । यो सरकारको आयु लामो नरहेको र केही समयमा एमालेले नढाले पनि ढल्ने उनको दाबी छ ।

‘अहिले सरकारतिर हाम्रो चिन्ता छैन । पार्टी निर्माणमा हाम्रो चिन्ता हो । तर, यो सरकार एमालेले ढालिराख्नुपर्ने स्थिति हुँदैन । धेरै पाकेपछि फर्सी आफैं कुहिएर झर्छ । त्यस्तै कुहिएर झर्ने स्थितिमा पुगिसक्यो,’– उनले भने ।

सत्ताधारी पार्टीमा पनि निश्चित निर्वाचन क्षेत्रमामात्रै बजेट गएको उनले बताए । अहिलेको बजेट विनियोजनमा समावेशिताको अवलम्बन हुन नसकेको उनको दाबी छ । नितान्त निजी स्वार्थ पूर्ति गर्नका लागि बजेट विनियोजन भएको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्