Logo

खेलाडीको भविष्य सुनिश्चित गछौँ : मन्त्री लिम्बु



काठमाडौं, २ असार । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्य सुनिश्चित हुने गरी सरकारले कार्यक्रम ल्याउने बताएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको नाम राख्ने खेलाडीको खेलपछिको जीवन सरल र सहज हुने गरी सरकारले कानुनी व्यवस्था गर्ने उनले स्पष्ट पारे।

पोखरा रङ्गशालामा आजदेखि सुरु भएको तेस्रो प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाली खेलकुदको विकास गर्न खेलकुदमा लाग्ने खेलाडीको भविष्य सुनिश्चित पार्ने कानुन ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिए।

नेपालको खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रको समेत साथ आवश्यक रहेको उनले बताए। खेलकुदमा निजी क्षेत्रको लगानी सुनिश्चित गर्दै खेलकुदमा लागेका अभिभावकलाई समेत सम्मानित हुने वातावरण सरकारले बनाउने मन्त्री लिम्बुको भनाइ छ।

खेलकुदका संरचनालाई सङ्घीयताअनुसार विकास गरिने उनले स्पष्ट पारे। उनले भने, “देशमा सङ्घीय शासन व्यवस्था सुरु भएको पाँच वर्ष पूरा भइसकेको छ। अब पनि पुरानै संरचनामा बसेर नेपालको खेलकुदको विकास हुन सक्दैन, यसको परिवर्तन गर्नु आवश्यक छ।”रासस



प्रतिक्रिया दिनुहोस्