Logo

केन्द्रीय कारागारभित्र अवैध धन्दा मौलाइएको भन्दै उजुरी



काठमाडौं, ३ असार । केन्द्रीय कारागार सुन्धारामा अवैध धन्दा मौलाइएको भन्दै उजुरी गरिएको छ।

कैदी/बन्दीलाई व्यापक शोषण र दमन गर्दै अवैध धन्दा मौलाइरहेको भन्दै त्यहाँका केही कैदी/बन्दीले गृहमन्त्रालय र कारागार व्यवस्थापन विभागमा उजुरी दिएको स्रोतले बताएको छ।

उनीहरूले जेलर तथा नाइके र त्यहाँका चौकीदारहरू मिलेर कैदीमाथि दमन, शोषण र त्यहीँबाट अवैध कामहरू गरिरहेको विवरणहरू पनि मन्त्रालय र विभागलाई दिएका छन्। त्यो उजुरी अख्तियारसम्म पुगिसकेको छ। मन्त्रालयले उजुरी दर्ता पनि गरिसकेको छ।

उजुरीमा उल्लेख भएअनुसार चौकीदार शान्ति तामाङ्ग, अस्पताल नाइके कोपिला मगर, हेडमास्टर निशा खिनाललगायतको मिलोमतोमा कारागारभित्रै लागूऔषध, चुरोट र मदिरा बेचबिखन गर्ने गरिएको छ। उक्त कार्यको मूल नाइके रमेश भनिने बै लामाले संरक्षण गरिरहेको उजुरीमा उल्लेख छ।

कारागारभित्र यसरी लुटतन्त्र मच्चाउँदै आएकाहरुलाई जेल प्रशासनले नै संरक्षण दिएको स्रोतको दाबी छ। स्रोतकाअनुसार कारागारभित्र अवैध धन्दा चलाउनेहरुलाई कारागार प्रमुख ललित बस्नेतले नै संरक्षण दिएका छन्। उनले भित्रको बेथितिबारे बोल्नेलाई अन्य कारागारमा चलान गरिदिने धम्की दिएर दबाबमा राख्ने गरेका छन्।

उजुरीमा उल्लेख भनिएअनुसार कारागारको प्रशासन जेलर भवनमा मूल नाइके, चौकीदार, बहीदार, ठुलो बहीदारजस्ता कैदी-बन्दीहरु कारागार प्रशासनको जेल र भवनसम्म सहज रुपमा आउन पाउँछन्।

उनीहरू कारागार प्रशासन जेलर भवनमा आउँदा र जाँदा पनि चेक/जाँच हुँदैन, जसले गर्दा कैदी-बन्दीलाई भेटघाट गर्ने बहाना बनाई बाहिरबाट आएको व्याक्ति र मूल नाइके, चौकीदार, बहीदार, ठुलो बहीदारजस्ता कैदी-बन्दीहरुको सहज भेटघाट हुने गर्छ। यसैको फाइदा उठाउँदै मूल नाइके, चौकीदार, बहीदार, ठुलो बहीदारले कारागारभित्र लागूऔषध, चुरोट र मदिरा भित्राउँछन् र १०औँ गुणा महङ्गोमा कारागारका अन्य कैदी-बन्दीलाई बिक्री वितरण गरिने उजुरीमा उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस्