Logo

काठमाडौं महानगरभित्रका ४६५ विद्यालयले बुझाए छात्रवृत्ति विवरणः १३ हजारभन्दा बढी विद्यार्थी लाभांवित



काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाभित्रका पाँच सय चार नीजि विद्यालयमध्ये चार सय ६५ विद्यालयले छात्रवृत्ति विवरण बुझाएका छन् । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहको ताकेता पछि विद्यालयले छात्रवृत्तिको विवरण बुझाएको हो । चार सय ६५ विद्यालले बुझाएको विवरणमा १३ हजारभन्दा बढी लक्षित वर्गका विद्यार्थीले छात्रवृत्ति पाएका छन् ।

महानगरलाई प्राप्त विवरणका आधारमा विद्यालयको निरीक्षणसमेत गरिने महानगर प्रमुख शाहले बताएका छन् । हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने पनि उनले बताएका छन् ।

त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उनको चेतावनी छ ।

विद्यमान कानुनी प्रबन्धको कार्यान्वयनबाट १३ हजार भन्दा बढीले छात्रवृत्ति पाएका छन् । कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुने महानगरप्रमुख शाह बताउँछन् । काठमाडौं महानगर कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर रहेको समेत उनले बताएका छन् ।

आज (मंगलबार) महानगरप्रमुख शाहले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्ः

काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले छात्रवृत्ति विवरण बुझाएका छन् । महानगरको इतिहासमा यो पहिलो पटक हो । त्यसबाट लक्षित वर्गका १३००० भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् । प्राप्त विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गरिनेछ।

हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइनेछ। त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ ।

विद्यमान कानुनी प्रवन्ध कार्यान्वयन गर्दा यी १३ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएका हुन् । कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं ।



प्रतिक्रिया दिनुहोस्