काठमाडौं,६ असार । प्रतिनिधि सभाको बुधबारको बैठकले हिजो निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
बुधबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले मन्त्री सिंहको निधनप्रति शोक प्रस्ताव पढेर सुनाउँदै उक्त प्रस्ताव पारित गर्ने सभा समक्ष प्रस्तुत गरेका थिए । घिमिरेले पेश गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका सिंह सवार कार हिजो दिउँसो बझाङमा दुर्घटना हुँदा सिंहसहित उनकी घर्मपत्नी र भाउजुको निधन भएको थियो भने अन्य दुइजना घाइते भएका छन् ।
शोक प्रस्ताव पारित भएपछि सभामुख घिमिरेले संसद बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।
आज बस्ने प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयमाथिको बजेटमा छलफल हुनेछ ।