Logo

प्रदेशका मन्त्रीको निधनमा शोक प्रस्ताव पारित गराउँदै सभामुख घिमिरेले गरे संसद्मा नयाँ अभ्यासको सुरुआत



काठमाडौं,६ असार । प्रतिनिधिसभाको बुधबारको बैठकले हिजो निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनप्रति शोक प्रस्ताव पारित गर्दै नयाँ अभ्यासको सुरुआत गरेको छ ।

बुधबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले मन्त्री सिंहको निधनप्रति शोक प्रस्ताव पढेर सुनाउँदै उक्त प्रस्ताव पारित गर्ने सभा समक्ष प्रस्तुत गरेका थिए । घिमिरेले पेश गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

कार्यव्यवस्था तथा परार्मश समितिको बैठकले प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधिसभाका बहालवाला सांसद सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने निर्णय गरेको सभामुखको सचिवालयले जनाएको छ ।

यसअघि भने यस्तो परम्पराको व्यवस्था गरिएको थिएन् ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका सिंह सवार कार हिजो दिउँसो बझाङमा दुर्घटना हुँदा सिंहसहित उनकी घर्मपत्नी र भाउजुको निधन भएको थियो भने अन्य दुइजना घाइते भएका छन् ।

शोक प्रस्ताव पारित भएपछि सभामुख घिमिरेले संसद बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्