काठमाडौं, ६ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आफू आम पहिचानको पक्षमा रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कुनै एउटा संस्कृति, भाषा, धर्म, सम्प्रदाय र जातको पहिचानको मान्यताबाट पछाडि हट्नु आवश्यक रहेको बताए । सबै दलहरुको प्रस्तावमा कोशी प्रदेश नामाकरणका लागि प्रदेश सरकारले सहजीकरण गरेको उनको दाबी छ । कोशी नामले सबैको पहिचानलाई सम्मान गरेको पनि उनको दाबी छ । प्रदेश नामाकरणलाई लिएर कोशी प्रदेशमा लामो समयदेखि पहिचानवादीहरुले आन्दोलन गर्दै आएका छन् ।
‘पहिचानवादी, पहिचान दुई वटा कुरा हुन्छन् । म आम पहिचानको पक्षमा हो । कुनै एउटा संस्कृति, जाति, भाषा, धर्मको पहिचानलाई म सम्मान गर्छु । तर, त्यो पहिचान सबैको पहिचान हो भनेर स्वीकार्न सक्ने स्थिति बन्न पर्यो । त्यो बनेको थिएन ।’ मुख्यमन्त्री कार्कीले भने, ‘त्यही भएर मैले कोशी नामावली हामी सबैको साझा पहिचान हो भनेर निष्कर्ष निकाले र हामी सबै दलहरु एक ठाउँमा भएर यो सकारकारको प्रस्ताव होइन, दलहरुको प्रस्ताव हो । दलहरुको पस्तावमा सरकारले सहजीकरण गरेर कोशी नाम राखेका हौं ।’
प्रदेशको नामाकरणको सन्दर्भमा नेपालको संविधानको धारा, उपधाराहरुलाई पूर्णरुपमा पालना गरेको उनको दाबी छ । नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति एवं संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिक बहादुर लिम्बुले सबै दलको समर्थन र संविधानको प्रक्रिया पूरा गरेर गरेको कामको विरोध गरेर गलत काम गरेको उनको आरोप छ । मन्त्री लिम्बुले गल्ती महसुश गरेर सार्वजनिक रुपमा बोल्नुपर्ने उनको माग छ । कोशी प्रदेश नामाकरणको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचानवादीहरुलाई उक्साउने काम गरेको उनको दाबी छ । संविधानको विधि र प्रक्रियामा रहेर प्रदेश सरकारले गरेको निर्णयमा टिप्पणी गर्ने छुट प्रधानमन्त्रीलाई नरहेको उनले बताए । कोशी प्रदेश नामाकरणको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रुपमा आफ्नो वक्तव्य राख्नु पर्ने उनको माग छ ।
‘मैले सुनेँ, मलाई थाहा छैन, प्रधानमन्त्री पव्रचण्डले मिटिङ बसेर गल्ती भयो भन्नु भयो रे । त्यो हैसियत कहाँ प्राप्त भयो उहाँलाई ? प्रचण्ड कमरेडलाई एउटा प्रदेश सभाले गरेको निर्णय, संवैधानिक र कानुनी प्रक्रिया पूरा भएको निर्णयलाई उहाँको एउटा पार्टीले गलत भयो भन्ने निर्णय उहाँको उपस्थितिमा हुन सक्दैन ।’ मुख्यमन्त्री कार्कीले भने, ‘अरु कसैले गर्न सक्ला, प्रधानमन्त्रीले गर्न मिल्दैन । त्यो गरेर उहाँले आन्दोलनलाई उकास्ने काम गर्नु भयो । त्यो उहाँले गल्ती गर्नु भयो । मलाई लाग्छ, प्रधानमन्त्री ज्यूले यस कु्रामा पब्लिकको सामू उभिएर आफ्नो स्टेटमेन्ट बताउन पर्छ । त्यस्तो गैरजिम्मेवारपूर्ण क्रियाकलाप गर्न पाईन्छ ? पाइँदैन ।’
प्रधानमन्त्री प्रचण्डको पहिचानवादीहरुलाई उकासेर हानेको झापडले आफूलाई नदुखेको मुख्यमन्त्री कार्कीले बताए । प्रचण्डको झापडले दुख्नुपर्ने प्रचण्डलाई नै भएको उनको भनाई छ । आफूले यस विषयमा प्रधानमन्त्रीसँग छलफलको लागि समय नपाएको उनले गुनासो गरे । उपयुक्त समय पाएमा छलफलको लागि तयार रहेको उनले बताए ।