Logo

‘संघीयता, गणतन्त्र र प्राप्त उपलब्धीलाई जोगाउन समाजवादी मोर्चा’



काठमाडौं, ६ असार । जनता समाजवादी पार्टी (जसपा) का नेता दिपेन्द्र झाले अहिलेको अवस्थामा संघीयता, गणतन्त्र र प्राप्त उपलब्धीहरुलाई जोगाउनका लागि समाजवादी मोर्चा बनेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संघीयता, गणतन्त्र, प्राप्त उपलब्धी र त्यसका एजेण्डमाथि निरन्तर प्रहार भएकाले भन्दै सामूहित रुपमा प्रतिकारका लागि मोर्चा घोषणा गरेको बताएका हुन् ।

‘अहिलेको अवस्थामा संघीयता, गणतन्त्र, परिवर्तन जोगाउन मोर्चावन्दी नगरी भएन । संघीयता र गणतन्त्रमाथि आक्रमण भयो । समाजवाद एउटा सैद्धान्तिक अवधारणा हो । त्यसलाई प्रचण्डजीले पनि स्वीकार गर्नुभयो । माधव नेपालले पनि स्वीकार गर्नु भएको छ । हाम्रो त पार्टीकै नाम समाजवादी नै छ,’– उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ समाजवादी मोर्चामा सहभागी भएर संसदीय व्यवस्थालाई स्वीकार गरेको उनको भनाई छ । ‘मोर्चामा संघीयता मान्ने र संघीयता नमान्ने दलहरु छन् नि ?’ भन्ने धमलाको प्रश्नमा उनले आफूहरु सबै संसदीय व्यवस्था र लोकतन्त्रमाथि प्रतिवद्ध रहेको बताए ।

‘हामी संसदीय व्यवस्था र लोकतन्त्रप्रति प्रतिबद्ध छौं र त्यो मान्यताप्रति विचलित हुने अवस्था छैन । मलाई लाग्छ बरु उहाँ (विप्लव) ले संसदीय व्यवस्था स्वीकार गरेर आउनु भएको छ,’– नेता झाले भने ।

समाजवादी मोर्चाको सत्तासँग कुनै सम्बन्ध नभएको उनले दाबी गरे । अहिलेको संसदमा कन्जरभेटिभ कोर्शहरु धेरै देखिएकाले सामूहिक रुपमा प्रतिकारका लागि मोर्चा बनेको उनको दाबी छ । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot