Logo

उपप्राध्यापक चलाउनेलाई त्रिविका ९ पूर्व उपकुलपतिको साथ



काठमाडौं,६ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको आरोपितमाथिको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति त्रिविका ९ जना पूर्व उपकुलपतिहरुले विरोध जनाएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै पूर्व उपकुलपतिहरु अर्जुन कार्की,कमलकृष्ण जोशी,त्रिरत्न मानन्धर, खगेन्द्र भट्टराई,तोरणबहादुर कार्की, नवीनप्रकाश जङ्ग शाह, महेशकुमार उपाध्याय, हिराबहादुर महर्जन र केदारभक्त माथेमाले संयुक्त विज्ञप्ति जारी गर्दै चलाउनेमाथि कुटपिट गर्ने विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय आपराधिक कार्यलाई प्रोत्साहन गर्ने भएको भन्दै उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

‘त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक श्री प्रेम चलाउनेलाई विश्वविद्यालय हाताभित्रै मरणासन्न हुने गरी कुटपिट गर्ने नेविसंघका विद्यार्थीहरूमाथि चलाइएको तथा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा सङ्घीय सरकारको मन्त्रिपरिषद्ले गत ज्येष्ठ ३० गते फिर्ता लिने गरी गरेको निर्णय निन्दनीय छ’, पूर्व उपकुलपतिहरूले भनेका छन्, ‘शैक्षिक संस्थामा अनुशासनहीनता, अमर्यादित एवं आपराधिक कार्यहरूलाई प्रोत्साहन गर्ने मन्त्रिपरिषद्को उक्त निन्दनीय निर्णयबाट सरकार स्वयं अपराधको पक्षपाती भएको देखिन्छ । मुद्दा फिर्ता लिने सङ्घीय सरकारको निर्णय तुरुन्त फिर्ता लिइयोस् भन्ने हामी पूर्व उपकुलपतिहरू माग गर्दछौँ र गत आषाढ ११ गते सोमवारदेखि आमरण अनशनमा रहनुभएका श्री प्रेम चलाउनेप्रति ऐक्यबद्धता जनाउँछौ ।’विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्