Logo

बजेट संशोधनको पक्षमा प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ७ असार । आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेटलाई लिएर अहिले सत्ता गठबन्धन दलबीचमा नै असमझदारी बढेको छ । संसद्मा बजेटमाथिको छलफलमा अरोप–प्रत्यारोप लगाउनु, असन्तुष्टि व्यक्त गर्नु प्रतिपक्ष दलको धर्म भएपनि अहिले संसद्मा सत्ता पक्षका सांसदहरुले नै असन्तुष्टि पोखिरहेका छन् । बजेटलाई लिएर सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) नेपाली कांग्रेस, जनता समाजवादी दलहरुले विरोध गरिरहेका छन् । कांग्रेस र नेकपा (एस) र जसपा लगायतका दलको अडान संशोधन नगरी बजेट पास गर्न नसकिनेमा रहेको छ ।

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य उदय समशेर राणाले पनि यथास्थितिमा बजेट पास नहुने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बजेट संशोधनलाई संविधान, कानुन, नियमावली कुनै पनि व्यवस्थाले अवरोध नगरेको र बजेट संशोधन गर्दा सरकार असफल हुन्छ भन्ने मानसिकता त्याग्न आवश्यक रहेको उनले बताए ।

नता समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले सरकारले गठबन्धनमा रहेका दलहरुबीच छलफल नै नगरी एकलौटी ढंगले बजेट ल्याएको आरोप लगाएका छन् । आज (बिहीबार) पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले बजेट यथास्थितिमा पास हुन नसक्ने बताए ।

‘अहिलेको बजेटमा एकलौटी ढंगले गठबन्धनमा रहेका दलहरुसँग छलफल नै नगरी यो बजेट ल्याइएको छ । बजेटले मधेश लगायत धेरै क्षेत्रलाई उपेक्षा गरेको छ । त्यसकारण यसलाई सच्याउनु पर्छ, सुधार गर्न पर्छ भनेर हामीले भनेका छौं । यथास्थितिमा यो बजेट पास हुन कठिन छ,’– उनले भने ।

बजेटमा न्यायोचित वितरण नभएको र यसले चालु रहेका योजनासमेतलाई असर पुर्याएको उनको भनाई छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत बजेट संशोधनका लागि सहमत भइसकेको समेत उनले दाबी गरे ।

‘यो बजेटमा न्यायोचित वितरण भएन र देशमा चालु रहेका योजनाहरु समेतलाई अवरोध हुने गरी ल्याइएको छ । प्रधानमन्त्रीजीले पनि यसलाई सच्याउने भन्नु भएको हुनाले सच्चिएर अगाडि बढ्छ,’– उनले भने ।

बजेटलाई लिएर गठबन्धन दलबीचमा बढ्दो असमझदारीलाई कम गरी सरकार टिकाउनका लागि पनि अहिलेको सरकारले बजेटमा संशोधन गर्नुको विकल्प छैन । बजेट संशोधन नभएको खण्डमा आफू नेतृत्वको सरकार धर्मराउने बुझिसकेको प्रधानमन्त्री प्रचण्ड अन्ततः बजेट संशोधनको विल्पमा जाने निश्चित छ । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्