काठमाडौं, ७ असार । नेपाल समाजवादी पार्टी (नेसपा) का नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले नेकपा (माओवादी केन्द्र) र नेसपाबीच एकताका लागि पटक–पटक वार्ता गरी आधार प्रस्तावसमेत प्रस्तुत गरिसकेको बताएका छन्।
सञ्चार माध्यममा कार्यरत पत्रकारसँगको भेटघाटमा उनले पार्टीले पठाएको आधार प्रस्तावबारे माओवादीको औपचारिक जवाफको प्रतिक्षामा रहेको जानकारी दिए।
नेता श्रेष्ठले भने, ‘माओवादी पक्षले पार्टीको आगामी बैठकबाट औपचारिकरुपमा तपाईहरुलाई जवाफ दिन्छौँ भन्नुभएको छ, त्यो कहिले आउँछ भन्ने प्रतिक्षामा हामी छौँ। जवाफ आइसकेपछि त्यसका आधारमा पार्टी एकतासम्बन्धी ठोस् निर्णय गरेर अघि बढछौँ।’
पार्टी एकताको प्रक्रिया अघि बढिसकेकाले अहिले गठन भएको मोर्चाले चुनौती खडा गर्छ कि भन्ने शङ्का नगर्न आग्रह गर्दै प्रदेश मन्त्री श्रेष्ठले एकताको प्रक्रिया भिन्न कोर्स भएकाले कुनै अन्योल नरहेको प्रतिक्रिया दिए।
उनले भने, ‘पार्टी एकता भन्नासाथ सिद्धान्त, दर्शन, कार्यदिशा, राजनीतिक कार्यक्रम, सङ्गठन, नेतृत्व प्रणालीलगायतका विषय हाम्रो तर्फबाट लिखित अवधारणा दिएका छौँ। वार्ता समिति बनाएर, पटक–पटक वार्ता गरेर नेसपाको तर्फबाट लिखितरुपमा एकताका निम्ति आधार प्रस्ताव प्रस्तुत गरिएको हो।’ रासस