Logo

नयाँ आवधिक योजनाका लागि सुझाव सङ्कलन थालियो



काठमाडौं, ७ असार । राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजनाको अवधारणपत्र तयार पार्नका लागि सुझाव सङ्कलन थालेको छ।

आयोगले बुधबारदेखि विभिन्न क्षेत्रका विषय विज्ञसँगको छलफल गरी सुझाव लिइरहेको छ। आज पनि चलेको छलफलमा योजना आयोगका पूर्वउपाध्यक्ष, पूर्वसदस्य, अर्थविद्हरू, नेपाल सरकारका बहालवाला तथा पूर्वसचिव तथा विभिन्न विषय विज्ञ सहभागी छन्।

आजको छलफलमा सहभागी विज्ञहरूले राष्ट्रिय योजना आयोगले बनाउने १६औँ आवधिक योजनाले सङ्घीयताको संरचनाअनुरुप योजना तर्जुमा हुनुपर्नेमा जोड दिएका छन्। प्रदेश र पालिकाको जिम्मेवारी तथा उपस्थितिलाई समेत विचार गरेर योजना तर्जुमा गरिनुपर्ने विज्ञहरूको सुझाव छ। प्रदेश र पालिकाका योजनाहरूलाई डोर्याउन सक्ने गरी योजना तयार पार्नसके मात्र त्यसलाई सङ्घीयताअनुरुप सबै तहले अवलम्बन गर्न सक्ने विज्ञहरूको तर्क छ।

योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठका अनुसार विषय विज्ञहरूले दिएको सुझावलाई समेत आधार मानी १६औँ योजनाको अवधारणापत्र तयार हुनेछ। उनका अनुसार साउन पहिलो साताभित्रै यसलाई अन्तिम रूप दिने गरी काम भइरहेको छ। विसं २०८१ साउनदेखि कार्यान्वयनमा जाने १६औँ आवधिक योजना आगामी माघ महिनाभित्रै अन्तिम रूप दिएर प्रकाशन गर्ने आयोगको तयारी छ।

आजको छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल, श्रम तथा रोजगार मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, आयोगका पूर्वसदस्यहरू डा चन्द्रमणि अधिकारी, डा गणेश गुरुङलगायत सहभागी थिए। रासस



प्रतिक्रिया दिनुहोस्