Logo

जीप दुर्घटनामा ५ जनाको मृत्यु भएपछि शहिद लखन गाउँपालिकाले गर्‍यो शोक बिदाको घोषणा



काठमाडौं,८ असार । गोरखामा जीप दुर्घटना हुदाँ पाँचजनाको मृत्यु भएपछि शहिद लखन गाउँपालिकाले आज शोक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ५ का चार जना र वडा नम्बर ४ को एक जनाको मृत्यु भएपछि सम्पूर्ण कार्यालय र शैक्षिक संस्था बन्द रहने गाउँपालिकाले जनाएको छ ।

‘शहिद लखन गाउँपालिका–५ पोखरीडाँडाबाट शहिद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँमा विवाहको टिकाटालोका लागी जन्ती लिएर गएको सवारी साधन फर्कने क्रममा कोटगाउँ नजिक पात्ले खोलामा सडकबाट अन्दाजी २०० मिटर तल झरी दुर्घटनामा परेको र १ जना महिला र ४ जना पुरुष गरी तपसिल बमोजिमका ५ जनाको घटना स्थलमा नै मृत्यु भएको र अन्य यात्रुहरू समेत घाइते भएकाले यस दुःखद घडीमा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दै आज मिति २०८०।०३।०८ गते गाउँपालिका कार्यालय तथा मातहतका वडा कार्यालय र शैक्षिक संस्थाहरुमा समेत शोक बिदा गरिएको व्यहोरा जानकारी गरिन्छ,’सूचनामा भनिएको छ।

सहिद लखन गाउँपालिका ३ स्थित चिलिङकोटमा प्रदेश नंं ३, ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

राती १ बजेको आसपासमा दुर्घटनामा परेको सो जिपमा १९–२० जना सवार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्