काठमाडौं, ८ असार । काठमाडौं महानगरपालिका-८ पशुपति देवपत्तनमा जन्मिएकी साहित्यकार गायत्रीदेवी तिमल्सिनाले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर र नेपाल संस्कृत विश्वविद्यालयबाट शास्त्री गरेकी छिन्।
देशप्रेम र आह्वान (अरुणोदय), बिजोक हेर्न किन आयौ वसन्त (रत्नश्री नारी विशेषाङ्क), नारी माता म पालिनी (रत्नश्री नारी विशेषाङ्क), स्वर्गीय साथी नानुप्रति (दीपशिखा पद्य कविता), ‘पाप’ नेपाली वाङ्मय (पद्य विशेषाङ्क), पशुपति तिमी छौ सबका रक्षक (द्वितीय पुरस्कार) पशुपति क्षेत्र, शिवरात्रि विशेषाङ्क, रस संख्यासम्बन्धी विवेचना (लेख) उन्नयन, वसन्त, उन्नयन, २००१ (पद्य कविता), हे राष्ट्रका दीप शतायु माधव, मस्ताना हे कवि हृदय हे छन्द सारथि, कोरोना (हिमाली सौगात पत्रिका), प्रेम : (वैजयन्ती छन्द कविता अंक ११, २०२१) लगायतका विभिन्न पत्रिकामा लेख रचनाहरू प्रकाशित भएका छन्।
यस्तै, उनको विश्वकवि नामक खण्डकाव्य प्रकाशोन्मुख रहेको छ।
प्रस्तुत छ साहित्यकार तिमल्सिनासँग गरिएको कुराकानी :
यहाँको साहित्य लेखन कहिलेबाट सुरू भयो ?
विक्रम सम्वत् २०३४/३५ तिरबाट हुनुपर्छ। त्यतिखेर म शारदा माध्यमिक विद्यालयमा निम्न माध्यमिक स्तरमा पढ्दै थिएँ।
कसरी बढिरहेको छ त लेखन गतिविधि?
जति बढ्नुपर्थ्यो–त्यो गतिमा छैन तर, भविष्यमा लेखनलाई गति दिने धारणा वातावरण बनाउँदैछु।
वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ?
म खासै सन्तुष्ट छैन किनभने मैले जति कृति लेख्न सक्थें त्यति लेख्न पाएको छैन र लेखेका खेस्रा पनि यसै मिल्किएका छन्। लेख्ने भावना छ, प्रेरणा पनि छ तर समयको अभाव छ। पढ्ने फुर्सद छैन, त्यसै भावनामा आएर कोर्नुको कुनै अर्थ पनि छैन।
कसबाट र कसरी प्रभावित हुनुभयो?
मेरा पिता लोकनाथ आचार्यबाट। बुबा सधैं केही न केही लेखिरहनुहुन्थ्यो। बुबाले कुमारसम्भव, रघुवंश र व्याकरण आफैंले पढाउनुभयो। नेपालीमा माधव घिमिरे र भरतराज पन्तका काव्य कृति एवं उहाँहरूको सानिध्य एवं प्रेरणाले पद्यकविताप्रति मोह बढ्यो।
कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि?
एउटा कवितासंग्रह निकालौं कि भन्ने विचार गर्दैछु।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ?
साहित्यले राष्ट्र सिर्जना गर्ने हो; साहित्यले सभ्यता खडा गर्ने हो र राज्यले साहित्य सृजनामा नैरन्तर्य आओस्, भन्नु भनेको राज्यको आफ्नै अस्तित्वको लागि हो। जबसम्म स्रष्टाको कुरा रह्यो–काव्य स्रष्टा राज्यबाट पोषित हुने होइन। राज्यबाट अपेक्षा गरेर काव्य सृजना गरिने होइन। स्रष्टा स्वतन्त्र हुन्छ र राज्यबाट उसले मात्र स्वातन्त्र्यको अपेक्षा गर्छ।
तपाईंको साहित्यिक आदर्श के हो?
म पुरानो पुस्ताको साहित्यिक चिन्तन बोक्छु। मलाई आजभोलिका कुराले नसताउने होइन तर पनि काव्य सृजनामा शास्वत कुराको खोजी गर्छु। त्यसको अर्थ हो तरकारीको भाउ र सरकार परिवर्तन मेरो काव्यको विषय होइन। त्यसको मतलब मलाई समाजको दैनिक अवस्थामा मेरो चासो छैन भन्ने होइन। तर मलाई सबै झुसिला डकारलाई काव्यमा कोचिदिनुहुँदैन भन्ने लाग्छ।
लेख्न कस्तो वातावरण चाहिन्छ?
वातावरणभन्दा पनि समय चाहियो। सास फेर्ने फुर्सद पनि पाइएन जिन्दगीमा। यदि समाजले लेख्ने स्वतन्त्रता दिएको छ भने व्यक्तिका आफ्ना अनुकूल/प्रतिकूल अवस्था त आफैंले मिलाउने हो। म पनि व्यस्त जीवनबाट अवकाश लिएर काव्यतिर लाग्ने प्रयास गर्दैछु।
लेखनप्रति के ले प्रेरणा दिन्छ जस्तो लाग्छ?
सबैका प्रेरणाका श्रोत एकै नहुन पनि सक्छन्। मलाई मेरा गुरुजनको बारम्बार घच्घची अनि प्रियजनहरूको सहयोगले अगि बढ्ने प्रेरणा दिन्छ। तर सबैभन्दा प्रेरक भनेका अरू लेखक नै हुन्। जब अरूले लेखेको पढ्छु– मलाई पनि कुत्कुती लाग्छ लेख्न।
लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ?
जब भावहरू उम्लेर आउँछन्। समय, परिस्थिति र परिवेश एवं वातावरणले घच्घच्याउन थाल्छ।
साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ?
अहिले सामाजिक सञ्जालमा हेर्दा त कवितामा बाढी नै आएको छ, छन्द कवितामा पनि रुचि बढेको देखिन्छ।
सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला?
सृजनामा कल्पना र सजीवता दुवैको सम्मिश्रण हुनु आवश्यक छ। कल्पना–शक्ति प्रबल भएन भने काव्यमा सजीवता आउँदैन। कल्पना भएन भने काव्य अलिनो अचारझैं हुन्छ।
लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ?
जब भावहरू उम्लेर आउँछन् अनि समय, परिस्थिति र परिवेश एवं वातावरणले घच्घच्याउन थाल्छ ।
लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ?
सामाजिक विषयवस्तु, प्रकृति एवं अध्यात्म।
सफल स्रष्टाका आवश्यक गुण के/के हुन्?
सधैं नयाँ चिन्तन गर्न सक्ने, अध्यनशील, मनन गर्न सक्ने, समाजका घटना दुःखसुख, राम्रा/नराम्रा कुरालाई आफ्नो प्रतिभाद्वारा उतारेर पाठकका मनमा डेरा जमाएर जस्ताको तस्तै ऐनामा जस्तो गरी देखाइदिन सक्छ, सामाजिक परिवर्तनको संवाहक बन्न सक्छ त्यो नै सफल स्रष्टा हो जस्तो लाग्छ।