Logo

सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिन एमाले सचिव महासेठको माग



काठमाडौं,८ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले नेपालको सीमा सुरक्षा गर्न नेपाली सेनालाई दिनुपर्ने प्रस्ताव गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विनियोजित बजेट माथिको छलफलमा आफ्नो धारणा राख्नेक्रममा एमाले सचिवसमेत रहेका महासेठले नेपाली सेनाको गुणस्तरलाई सुदृढ गर्दै राष्ट्रिय एकता र अखण्डताको रक्षा गर्न सेनाको भूमिका बढाउनुपर्नेमा जोड दिए ।

उनले भने,‘नेपाली सेनालाई आधुनिकीकरण गर्नुपर्छ । उहाँहरुलाई उहाँहरुसँग सम्बन्धित उद्योग,व्यापारबाहेक अरु उद्योग व्यापारमा लगाउनु हुँदैन । पच्चीसौं, पचासौं वर्ष पुराना हतियारहरुलाई डम्पिङ गर्दै आधुनिकीकरण गर्न उहाँहरुलाई हतियारतिर पनि सरकारले ध्यान दिनुपर्छ’सेनाको जुन उदेश्यका साथ स्थापना गरिएको हो सोही अनुरुपको काममा लगाउनु पर्छ,‘हाम्रा सिमाना दिनप्रतिदिन मिचिरहेको छ । पहिला त्यस्तो स्थिति थिएन । आज हामीले जसलाई जिम्मा लगाएका छौं, कहीं-कहीं नापीका हाकिमहरु त मिटिङमा जाँदाखेरी नेपालमै बसेर हस्ताक्षर गरेको हुन्छ । भोलिपल्ट उठ्दा त उहाँ अरु देशमा बसेको थाहा पाउनुहुन्छ । हिजो मैले के, कसरी सही गरें, उहाँहरुलाई थाहा हुँदैन । त्यसैले सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ र त्यो नयाँ कुरा होइन । पहिला पहिला पनि सेनाको कर्णेलको नेतृत्वमा सिमानाको रेखदेख, नापजाँच उहाँहरुको जिम्मा थियो । त्यसैले यो सरकारले पुनः यसमाथि विचार गरोस् ।’



प्रतिक्रिया दिनुहोस्