Logo

बालेन, म र हर्कबीच झगडा परेपनि हुन्थ्यो भन्ने धेरै छन्ः रवि लामिछाने



काठमाडौं, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले राजनीतिमा आएका नयाँ अनुहारलाई पनि जुधाउन खोजिएको टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंमा रास्वपा–धादिङ काठमाडौं सम्पर्कको भेलालाई सम्बोधन गर्दै उनले बालेन, हर्क र आफूलाई जुधाउन खोजिएको बताएका हुन् ।

‘नयाँ अनुहारहरु राजनीतिमा आएसँगै शृङ्खलाबद्ध रुपमा अब यो नयाँलाई पनि जुधाउन पाईन्छ कि क्या हो ? भनेर पुराना मान्छेहरु आँत्तिएका छन् । यस्तो महसुश गराउन खोजिएको छ, यी नयाँ–नयाँको पनि झगडा परेपनि हुन्थ्यो । यिनीहरुले पनि कुरा काट्दिएपनि हुन्थ्यो । बालेनले रविलाई गाली गर्दै हुन्थो । रविले बालेनलाई गाली गर्दै हुन्थ्यो । हर्कलाई गाली गर्दै हुन्थ्यो भनेर उचालेको उचाल्यै छन्,’– उनले भने ।

आफूहरु एकअर्कासँग लड्न नआएको उनको भनाई छ । रास्वपा समाजमा रहेको बेथितिकोविरुद्ध लड्न आएको उनले बताए । आफूहरुले एकअर्कालाई साथ, सम्मान र सहयोग गर्दै मिलेर अगाडि बढ्ने संकल्पसहित आएको उनको दाबी छ ।

देश बनाउनका लागि आफू कुनै पनि बेला उक्त सोच भएको व्यक्तिको सहयोगी बन्नका लागि तयार रहेको बताएका छन् । अहिलेको जिम्मेवारी आफ्नो व्यक्तिगत चाहनाको लागिमात्रै नभएको उनले बताए । रास्वपाको सिद्धान्त जान्नेलाई छान्ने भएको उनको भनाई छ । आगामी २०८४ सालमा हुने निर्वाचनमा आफूहरुलाई लडाउन मुख मिठ्याएर बसेकाहरुलाई तितो हालिदिने बताए ।

 



प्रतिक्रिया दिनुहोस्