Logo

किन गर्छ अदालतले एक रुपैयाँ जरिवाना र एक मिनेटमात्रै कैद सजाय ?



काठमाडौं, ९ असार । हामी कसैलाई अन्याय परेको महसुश भएको खण्डमा न्याय माग्न जाने निकाय भनेको अदालत हो । अदालतको फैसला सबैले मान्नुपर्छ र त्यो बाध्यकारी हुन्छ । तर, अदालतले कहिले काही नसोचेको फैसला पनि गर्नसक्छ । अदालतले न्यूनतम् एक रुपैयाँ जरिवाना र एक एक मिनेट, एक घण्टा वा एक दिन कैद पनि गर्न सक्छ । यो पढ्दै गर्दा हामीलाई सजाय थोरै जस्तो लाग्छ र सोच्छौं यति सजाय त नगरेको भएपनि हुन्थ्यो । तर, यतिथोरै सजायको अर्थ भने ठूलो रहेको छ ।

यस्तो प्रकारको थोरै सजाय पाएको व्यक्तिले आफूलाई थोरै सजाय भयो भनेर मख्ख पर्नुभन्दा पनि म कति तुच्छ रहेछु मेरो लागि सजाय पनि उपयुक्त भएन भनेर सोच्नुपर्ने खेम भण्डारीको मुद्दामा कञ्चनपुर जिल्ला अदालतले गरेको फैसलामा उल्लेख छ ।

निर्मला हत्या प्रकरणलाई ट्वीष्ट एण्ड टर्न गरी घटनालाई थप रहस्यमय बनाउन भूमिका खेलेको आरोपमा भण्डारीलाई अदालतले उक्त ‘तुच्छ सजाय’ को फैसला सुनाएको थियो । अदालतको फैसलापछि भण्डारीले एक रुपैयाँ गरिवाना तिरेर एक घण्टा कैद सजाय भुक्तान गरेका थिए । मानिसलाई एक मिनेटको कैद वा एक दाम जरिवाना सामाजिक र मानसिक रुपमा पीडादायी हुने फैसलामा उल्लेख छ ।

खेम भण्डारीविरुद्धको मुद्दामा यस्तो छ कञ्चनपुर जिल्ला अदालतको व्याख्याः

कहिलेकाहीँ अदालतले गरेको सजाय हेर्दा सामान्य तर एक सभ्य व्यक्तिलाई सदैव पीडा दिने प्रकृतिको हुन्छ। अदालतले गरेका सजाय हेर्दा अरूलाई यस्तो पनि सजाय हुन्छ भन्ने लाग्छ। तर सो सजाय पाउने व्यक्तिलाई निकै महङ्गो पनि हुन्छ। उदाहरणको लागि १ पैसा, १ दाम, १ रूपैयाँ जरिवाना तथा १ दिन, ६ घण्टा वा १ मिनेट कैद हुने गरि न्यायालयले निर्णय गर्यो भने सो सजाय पाउने मानिसले कैयन् पटक सोच्नै पर्ने हुन्छ यस्तो सजाय मलाई किन भयो भनेर। यसबाट न्यायालयले यो मान्दछ कि तँ यति तुच्छ छस् कि सजाय पनि तेरो लागि अनुपयुक्त छ भन्ने हुन्छ। यस्तो अवस्था कहिलेकाहिँ क्षतिपूर्ति भराउने सम्बन्धमा पनि देखा पर्दछ। वादीले मुद्दा नगरेको भए हुने थियो तर गरिहाल्यो भनेर यस्तो प्रकृतिको क्षतिपूर्ति पनि भराउने हुन्छ। यस्तो क्षतिपूर्ति पायो भने दावीकर्तालाई सन्देश प्रवाह हुन्छ कि अधिकार भन्दैमा सस्तो लोकप्रियताको लागि दावी गर्ने भन्ने हुँदैन। विचार गर। त्यसैगरी सजाय पाउनेलाई तेरो लागि सजायको प्रकृति पनि शोभनीय छैनस् तँ त्यति तुच्छ होस् भन्ने हुन्छ ।

यस्तो प्रकृतिको फैसला मूलतः न्यायलयको अवहेलनमा दिने गरिन्छ । अदालतले मैँ हुँ भन्ने व्यक्तिलाई पनि अदालत त तुच्छ होस् भनिदियो भने त्यो भन्दा ठूलो सजाय केही नहुने कुरा कञ्चनपुर जिल्ला अदालतले भण्डारीको मुद्दाको पूर्णपाठमा उल्लेख गरेको छ । कहिलेकाही मुद्दा दायर गर्ने (वादी) लाई यति सानो कुरामा मुद्दा नगरेको भएपनि हुने रहेछ भन्ने पार्नका लागि पनि अदालतले यस्तो सजाय सुनाउने कानुनका ज्ञाताहरु बताउँछन् । यस्तो खाल्को क्षतिपूर्ति पाउने मान्छेले पनि हिनता बोध गरेर त्यति सानो कुरा पछिल्ला दिनदेखि अदालतमा नल्याउने उनीहरुको तर्क छ । यस कारण थोरै जरिवाना र थोरै कैद सजाय पनि व्यक्तिका लागि पीडादायी हुनसक्छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot