Logo

भक्तपुरमा छ महिनामा एक सय २० वटा मानव अधिकार हननका घटना 



काठमाडौं, ९ असार । भक्तपुर जिल्लामा विगत ६ महिनामा मानव अधिकार हननका एक सय २० वटा घट्ना घटेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्ला समन्वय समिति भक्तपुरको सभाहलमा आयोजना गरेको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा २०२३ जनवरीदेखि जुनसम्म भक्तपुरमा भएका मानव अधिकार हननका घट्नाको सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
इन्सेक भक्तपुर प्रतिनिधि रमेश गिरीले घट्नाको तथ्यांक सार्वजनिक गर्दै यस ६ महिनाको अबधीमा एक जनाको हत्या, चार जनाको हत्या प्रयास, २१ जनाको बलात्कार, २ जना बलात्कार प्रयास, बाल यौन दुव्र्यबहारबाट ५ जना र बहुबिवाहबाट २ जना पीडित भएका छन् । त्यस्तै अभद्र व्यबहारबाट ५१ जना महिला, घरेलु हिंसाबाट ३२ जना महिला,  आत्महत्या दुरुत्सानमा २ जना पीडित भएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख इश्वर थापाले राज्य आफैले नयाँ प्रकृतिको हिंसा गर्दै गइरहेको र राज्य नै नीीतगत हिंसाको लागेको बताए । उनले इन्सेकले मानव अधिकारको क्षेत्रको अन्वेषणको दायरालाई फराकिलो पार्नुपर्ने बताउदै भने, “राज्यनै हिंसा गर्दैछ, राज्य प्राकृतिक दोहण गर्दै मानवीय संकट निम्त्याउदै छ, मंहगी बढाएर बाँच्न मुश्किल बनाउदैछ । यस्ता अधिकारका विषयलाई पनि इन्सेकले मानव अधिकार भित्र समेटेर लैजानु पर्छ ।”
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मानव अधिकार आयोग गठन नहुदै इन्सेकले मानव अधिकारका यथाथए विबरण राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पुर्याउदै आएको चर्चा गरे ।  इन्सेक र यसको तथ्यांकलाई राज्यले ठूलो महत्व दिएको भन्दै उनले राज्यले समयानुकूल ऐन, कानूनलाई परिमार्जन गर्दै लैजानु पर्ने औल्याए । “२० वर्ष नभई बिवाह गर्न कानूनले दिदैन, अहिलेको समयमा १४ वर्षमै मेचुअड देखिन्छन् । त्यसरी विवाह भए जन्मेका बच्चाको अधिकार के हुने ? बहुविवाह दर्ता हुदैन तर उनीहरुबाट जन्मेका बच्चाको अधिकार के हुने भन्नेबारेमा राज्य स्पष्ट हुनु पर्छ, विवाह गर्ने उमेर पनि अब घटाउनु पर्छ, यस्ता विषयमा इन्सेकले राज्यलाई सुझाव दिनुपर्छ ।”
शान्ति सुरक्षा र मानव अधिकारको रक्षा गर्न प्रहरी र प्रशासनलाई समुदायका प्रत्येक नागरिक बिना पोशाकका प्रहरीको भूमिका निर्वाह गर्ने र राजनीतिक दलले आफ्ना प्रत्येक युवा कार्यकर्तालाई यसबारेमा सचेना जगाउन आवश्यक रहेको उनले बताए ।  कार्यक्रममा जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले साईबर क्राइम र लागू औषधका कारण अपराध बढाइरहेको बताए । मानव अधिकार हनन हुन नदिन प्रहरी संवेदनशील रहेकाले समुदायसँग साझेदारी गर्दै यस्ता घट्नाको नियन्त्रणमा प्रहरी लागिरहेको उनको भनाई छ ।
प्रहरीले रातोदिन दुख गरेर पक्रिएका कतिपय अपराधीलाई अदालतले सामान्य धरौटीमा छाडिदिने र ती अपराधी पुन अपराध कर्ममा लाग्ने समस्याले जकडिएको भन्दै उनले कानून बलियो बनाउदै कार्यन्वयनमा जानु पर्नेमा जोड दिए ।
त्यसअवसरमा नेपाल बार एशोसियन भक्तपुरका अध्यक्ष रविन्द्र प्रधान, मानव अधिकारकर्मी युवराज घिमिरे, गैसस भक्तपुरका उपाध्यक्ष एवं सिविसका महासचिव अनिता पाण्डे, पत्रकार महासंघ भक्तपरका अध्यक्ष जगत प्रजापति, मानव अधिकार एलाइन्सका अध्यक्ष पुरुषोत्तम श्रेष्ठलगायतले इन्सेकले मानव अधिकारका घट्नाको अबस्थाको तथ्यांक संकलन र राज्यलाई सुझाव दिने विषयमा दायरा फराकिलो पार्दै जानु पर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक अर्थात् एसपी प्रकाश आचार्य, शसस्त्र प्रहरी बल दुवाकोटका शसस्त्र प्रहरीका डिएसपी राममणी पौडेल, नेपाली सेनाका इन्द्र बक्स गण भक्तपुरका मेजर काजी बोहरालगायत विभिन्न संघसंस्थाका प्रतिनिधि एवं पत्रकार र मानवअधिकारकर्मीको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्