Logo

राष्ट्रपति र उपराष्ट्रपतिलाई सेतो हात्तीको रुपमा नपालौंः अमरेश सिंह



काठमाडौं, १० असार । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले नेपालका लागि राष्ट्रपति र उपराष्ट्रपति कार्यालय सेतो हात्ती बनेको टिप्पणी गरेका छन् । आज (आईतबार) जारी प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रपति, उपराष्ट्रपति कार्यालयका लागि खर्च कटौती आवश्यक रहेको बताए । नेपालमा राष्ट्रपति र उपराष्ट्रपतिलाई कुनै सुरक्षा थ्रेट नरहेको दाबी गर्दै उनले हजारौं सुरक्षा कर्मी र गाडी लगायतको खर्च कटौती गर्न आवश्यक रहेको उनले बताए ।

‘हामीले राष्ट्रपति र उपराष्ट्रपतिलाई सेतो हात्तीको रुपमा पालेर राखेका छौं । त्यो कार्यालयबाट जनताको पक्षमा के–के काम भइराखेको छ ? मैले बुझ्न सकेको छैन । हाम्रो देशमा त्यस्तो कुनै सुरक्षा थ्रेट छैन कि हजारौं हजार सुरक्षाकर्मी त्यहाँ परिचालन गर्ने । जनतासँग भेट्न नहुने, कुरै गर्न नदिने, जनसरोकारको विषयमा राष्ट्रपति र उपराष्ट्रपतिलाई मूर्ति बनाएर राख्ने ?’ उनले प्रश्न गरे ।

अरु देशमा उपराष्ट्रपतिलाई राष्ट्रिय सभा प्रमुको जिम्मेवारी रहेको स्मरण गर्दै उनले खर्च कटौतीका लागि नेपालले पनि सोही प्रक्रिया अबलम्बन गर्न आवश्यक रहेको उनले बताए । भिआईपी कल्चरकै कारण अहिले जनतामा गणतन्त्रप्रति वितृष्ण बढेको उनको दाबी छ । देशमा भिआईपी प्राइरिटीमा परेको र जनता प्राइरिटीमा नपरेको उनले बताए । आफूहरुले जनताको राष्ट्रपति चाहेको उनले बताए । नेताको सुविधाको ख्यालसँगै जनताको सुविधाको ख्याल गर्न सरकार गम्भीर हुन आवश्यक रहेको उनले बताए । उनले राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको खर्च कटौती गरेर एक रुपैयाँ कायम गर्न माग गरे । File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्