Logo

उपराष्ट्रपतिलाई पदेन राष्ट्रियसभाको अध्यक्ष बनाउन एमाले सांसद पन्तको प्रस्ताव



काठमाडौं,१० असार । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिलाई कुनैपनि सल्लाहकार आवश्यक नभएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च कटौती गरेर एक रुपैँया कायम गरिओस भन्ने प्रस्तावको समर्थनमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् । उनले राष्ट्रपति र उपराष्ट्रपतिले अनावश्यक रुपमा सल्लाहकार राखेर जनताले तिरेको करको दूरुपयोग गरिरहेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘हाम्रोमा राष्ट्रपतिलाई सुरुदेखि नै सल्लाहकार दिँदै आयौँ। भारतमा राजेन्द्रप्रसाद देखि द्रौपदी मूर्मसम्म आउँदा १५ जना राष्ट्रपति भए तर अहिलेसम्म सल्लाहकार राखेको छैन। अहिले राष्ट्रपति र उपराष्ट्रपतिसँग सम्बन्धित कानुन हेर्दा राष्ट्रपतिका ७ जना उपराष्ट्रपतिका लागि ५ जना सल्लाहका राख्ने प्रावधान भनेको छ।’

उपराष्ट्रपतिले विदेश सल्लाहकार राखेको भन्दै आपत्ति जनाउँदै पन्तले उपराष्ट्रपति पद र राष्ट्रिय सभा अध्यक्ष पदको प्रकृति एउटै भएको कारण उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको पदेन अध्यक्ष बनाउन प्रस्तावसमेत गरे ।

‘उपराष्ट्रपतिलाई विदेश मामिलामा सल्लाह दिन के आवश्यक पर्छ ? राष्ट्रपतिलाई पनि पर्दैन। राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रीपरिषद् हो। उपराष्ट्रपति पदेन राष्ट्रिय सभाको अध्यक्ष हुनुपर्छ। खर्च घटाउने गरी संशोधनमा राष्ट्रिय सहमति यसको विषयमा पनि गरौँ।’ पन्तले भने ।



प्रतिक्रिया दिनुहोस्