Logo

संसद्मा कांग्रेस सांसद् लेखकको प्रश्नः ‘बजेटमा कुनै संशोधन गर्ने होइन भने छलफलको औचित्य के ?’



काठमाडौं, १० असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेटमाथि संसद्को भूमिका सुनिश्चित गर्न आवश्यक रहेको बताए । आज (आईतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले बजेट संशोधन नहुने हो भने यसमाथि लामो छलफल गर्नुको औचित्य नरहेको बताएका हुन् ।

‘यदि बजेटमा कुनै पनि संशोधन गर्ने होइन भने यत्रो लामो छलफलको औचित्य के हो भन्ने महत्वपूर्ण प्रश्न उठेको छ । हामी त्यो प्रश्नलाई अनुत्तरित राखेर र त्यो प्रश्नमा कुनै जवाफदेहिता नबोकेर त्यो विषय र प्रश्नलाई सम्बोधन नगरिकन अगाडि बढ्ने सम्भावना छ जस्तो मलाई लाग्दैन,’– उनले भने ।

विनियोजन विधेयक, अर्थ विधेयक सदनमा प्रस्तुत भइसकेपछि सदनले यसमा आफ्नो भूमिका खोज्न आवश्यक रहेको उनको भनाई छ । बजेट संशोधनका लागि आगामी वर्षको बजेट प्रस्तुत हुनु अगावै नियमावली संशोधन गर्न आवश्यक रहेको र बजेटमाथि संसद्को भूमिका सुनिश्चित गर्न आवश्यक रहेको उनले बताए ।

संसारका विभिन्न देशहरुमा समायानुकूल बजेटमाथिका अवधारणा परिवर्तन भइरहेको बताउँदै उनले बजेटमाथि संसद्मा कुनै पनि संशोधन हुँदैन भन्ने मान्यतालाई परिमार्जन गर्न आवश्यक रहेको उनले बताए । अहिले बजेटका सन्दर्भमा रहेको व्यवस्थालाई अर्को वर्षको बजेट आउनु पूर्व नै संशोधन गर्न उनले आग्रह गरे । बजेटमाथि सदनको भूमिका खोजेर परिमानर्जन गरेर जानसक्ने व्यवस्थाको सुनिश्चिता आवश्यक रहेको उनले बताए । जनताको सार्वभौम शक्तिको रुपमा उपयोग गरिरहेको संसद्ले बजेटमाथि भूमिका निर्वाह गर्न पाउनु पर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्