Logo

सडक सञ्जालको विस्तारलाई पहिलो प्राथमिकतामा राखिएको छ : मन्त्री ज्वाला



काठमाडौं, १० असार । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले सडक सञ्जालको विकास र विस्तारले मात्रै समग्र विकासको प्रक्रिया अगाडि बढ्ने भएकाले निर्धारित समयमा नै निर्माणाधीन परियोजना पूरा गर्न सरकार लागिपरेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफमा मन्त्री ज्वालाले विकासको मूल आधार भएकाले सडक सञ्जालको विस्तारलाई पहिलो प्राथमिकतामा राखिएको र त्यसको दिगोपनका बारेमा समेत सरकारले आवश्यक चासो राखेको बताए। रुग्ण रहेका आयोजनालाई समेत नयाँ आधारमा अगाडि बढाउने सङ्कल्पका साथ काम थालिएको उनको भनाइ छ।

यातायात क्षेत्रमा सुशासन कायम गर्न, सवारी चालक अनुमतिपत्रलाई सहज र सरलरूपमा लिन पाउने प्रबन्ध गरिएको, नवीकरणमा पनि सहजताका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै मन्त्री ज्वालाले सवारी चालक अनुमतिपत्रको अवधि १० वर्षको बनाउने गरी ऐनमा नै प्रबन्ध गरिएको उल्लेख गरे।

पूर्वतयारी सम्पन्न भएका आयोजनालाई मात्रै अगाडि बढाउने जानकारी दिँदै उनले आगामी आवका लागि मन्त्रालयको बजेट ठूलो मात्रामा कटौती भएको जानकारी दिए। सीमित साधन र स्रोतका कारण ठूलो अपेक्षा पूरा गर्न गाह्रो भएको उल्लेख गर्दै उनले निर्माणाधीन तथा निर्माणमा जाने तयारीमा रहेका आयोजनालाई पनि शीघ्रातिशीघ्र सम्पन्न गरिने बताए। रासस



प्रतिक्रिया दिनुहोस्