Logo

सरकारले भरतपुर रङ्गशाला आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने



काठमाडौं, १० असार । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालालाई सरकारले आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने बताएका छन्।

प्रतिनिधिसभाको आज बसेको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ बजेट विनियोजन विषयक छलफलमा मन्त्री लिम्बूले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण प्रक्रियाका अगाडि बढाएको निमार्णाधीन रङ्गशाला सरकारले स्वामित्व ग्रहण गर्ने र थप बजेट विनियोजन गरी निर्माण कार्य अगाडि बढाउने बताए। उनले विद्यालयमा अध्ययरत बालबालिकाका लागि खेलकुद प्रतियोगिता आयोजना गर्न सबै स्थानीय तहमा बजेट विनियोजन गरेको बताए।

त्यसैगरी उनले चीनको होङझाउमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताको तयारीका लागि विभिन्न खेलका दुई सय ३३ जना खेलाडीलाई बन्दसत्रमा राखेर प्रशिक्षण गराइरहेको बताए। एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाउँदैछ। रासस



प्रतिक्रिया दिनुहोस्