Logo

घोराही उपमहानगरपालिकाले ल्यायो दुई अर्ब १५ करोडभन्दा बढीको बजेट



काठमाडौं, १० असार । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ। आर्थिक स्रोतमाथि देखिएको सङ्कुचनका कारण बजेटको आकार चालु आर्थिक वर्षभन्दा सात दशमलव ४५ प्रतिशतले घटाएर विनियोजन गरिएको छ।

कूल बजेटमध्ये एक अर्ब २८ करोड तीन लाख ४० हजार अर्थात् ५९ दशमलव ४० प्रतिशत चालु खर्च र ८७ करोड ५१ लाख ४३ हजार अर्थात् ४० दशमलव ६० प्रतिशत पूँजीगत खर्च सहितको बजेट उपप्रमुख हुमा डिसीले आज  नगरसभाको तेह्रौँ अधिवेशनमार्फत बजेट सार्वजनिक गरे।

कूल विनियोजित रकममध्ये सङ्घ सरकारबाट प्राप्त हुने ससर्त अनुदान ७६ करोड ५९ लाखमध्ये पाँच करोड ३१ लाख अर्थात् ६ दशमलव ९३ प्रतिशत पूँजीगत खर्च र ७१ करोड २८ लाख अर्थात् ९३ दशमलव ०७ प्रतिशत चालु खर्च रहेको छ । त्यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने ससर्त अनुदान चार करोड ७८ लाख ५० हजारमध्ये चार करोड ६४ लाख अर्थात् ९६ दशमलव ९७ प्रतिशत पूँजीगत खर्च र १४ लाख ५० हजार अर्थात् तीन दशमलव ०३ प्रतिशत चालु खर्च रहेको छ।

सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय घर जग्गा रजिष्ट्रेसन, बैंक मौज्दात समेतबाट विनियोजन गरिएको बजेट एक अर्ब ३४ करोड १७ लाख ३३ हजारमध्ये ५६ करोड ६० लाख ९० हजार अर्थात् ४२ दशमलव २० प्रतिशत चालु खर्च र ७७ करोड ५६ लाख ४३ हजार अर्थात् ५७ दशमलव ८० प्रतिशत पूँजीगत खर्च रहेको उनले जानकारी गराए।

घोराहीले आर्थिक वर्ष २०७९/८० का लागि दुई अर्ब ३२ करोडको बजेट ल्याएको थियो । यो पटक करिब रु १७ करोडले कमको बजेट ल्याएको छ। सङ्घीय सरकारबाट प्राप्त हुनुपर्ने वित्तीय समानीकरण अनुदानमा कटौती तथा राजस्व बाँडफाँटबाट प्राप्त हुनुपर्ने रकमसमेत घट्न जाँदा बजेट विनियोजन भएका कार्यक्रम तथा आयोजना कार्यान्वयनका रोक लगाउनुपर्ने अवस्थासमेत आएको हुँदा बजेटको आकार केही घटेको उनले बताए।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot