Logo

‘सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र बढ्यो असन्तुष्टि’



काठमाडौं, ११ असार । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारप्रति पार्टीथित्र असन्तुष्टि बढेको टिप्पणी गरेका छन् ।
हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु अहिलेको सरकार ढाल्न लागि नपरे पनि असन्तुष्टि भने व्यपाकरुपमा बढ्दै गएको बताएका हुन् । सरकारमा सहभागी भएर पनि देखिने गरी काम गर्न नसक्दा त्यसको असर आगागि ०८४ सालमा हुने आम निर्वाचनमा देखिने उनको भनाई छ ।

‘हामी सरकार ढाल्न लागेको छैनौं । तर, सरकारको पर्फमेन्ससँग असाध्यै असन्तुष्ट छौं । ०८४ मा हामी निर्वाचनमा जाने सन्दर्भमा त्यो भन्दा अगाडि सधैं सरकारमा रहने तर, सरकारमा भएर केही पनि नगर्ने । जनतालाई सरकारमा बसेर पर्फमेन्स देखाउन नसक्ने हो भने त्यसको असर चुनावमा पर्छ । जसले हामी ०८४ को चुनावको एकदमै चिन्ता गरिराखेका छौं,’– उनले भने ।

‘गगन थापा, विश्वप्रकाश शर्मा र तपाईँ एमालेका नेताहरुसँग वार्तामा हुनुहुन्छ रे नि ?’ भन्ने धमलाको प्रश्नमा उनले भने–‘त्यो मेरो सन्दर्भमा एकदमै गलत हो । अरु कुरा मलाई थाहा भएन, उहाँहरु पनि हुनुहुन्छ जस्तो मलाई लाग्दैन । सरकारै परिवर्तन हुनेगरी गृहकार्य भएर धेरै अगाडि बढिसकेको स्थिति छ भनेर भन्न सकिने स्थिति छैन । तर, नेपालमा असम्भव चाहिँ केही पनि छैन ।’
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढाल्न आफू लागि नपरेको र यसबारेमा आफूलाई कुनै सूचना नै नभएको उनको दाबी छ ।

०८४ अगाडि सरकारमा बसेकाले राम्रो काम गरेको खण्डमा निर्वाचनमा कसैसँग गठबन्धन गरिबस्न आवश्यक नरहेको उनले बताए । सरकारमा सहभागी भएर कांग्रेसका नेताहरुले पनि कुनै काम नगरेको उनको आरोप छ । मन्त्रीहरुले देखिने गरी र प्रशंसा गर्ने गरी कुनै काम नै नगरेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्