Logo

जलहरी प्रकरणको निष्पक्ष छानविनका लागि संसदीय समिति बनाउन माग



काठमाडौं, ११ असार । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले जलहरी प्रकरणमा संसदीय छानविन समिति गठनको माग गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रकरणको पूर्ण र निश्पक्ष छानविनका लागि समिति बनाउन माग गरेका हुन् । साथै, केही दिन अगाडि प्रतिनिधि सभा बैठकमा एक जना माननीयले जलहरी प्रकरणको कुरा उठाउँदा उक्त कुरा संसद्को रेकर्डबाटै हटाइएकोमा उनले आपत्ति जनाएका छन् । संसद्ले रेकर्ड हटाउनुमा उक्त प्रकरणलाई ढाकछोप गर्न खोजिएको सन्देश प्रवाह भएको उनले बताए ।

‘केही दिन अगाडि यहि सदनमा एक जना माननीय ज्यूले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरी सम्बन्धमा कुरा उठाउँदा यसलाई रेकर्डबाट हटाइयो । मेरो विचारमा संसद्ले त्यसलाई ढाकछोप गर्न खोजेको सन्देश गएको छ,’– उनले भने ।

जलहरी प्रकरणमा उजुरी परेको दुई वर्षपछिमात्रै अख्तियारले छानविन सुरु गरेको भन्दै उनले यसप्रति आशंका व्यक्त गरे । महालेखाले प्रष्ट रुपमा उल्लेख गरेको विषय छानविनमा खख्तियारले ढिला गर्नुको प्रति उनको गम्भीर आशंका रहेको छ ।

‘उजुर परेको दुई वर्षपछि बल्ल अख्तियारले छानविन गरेको छ । महालेखाको प्रतिवेदनमा प्रष्ट आएको विषयलाई अख्तियारले यति ढिलो गरी छानविन किन गर्यो । यो गम्भीर विषय छानविनको लागि सदनले एउटा समिति बनाओस् । यसको पूर्ण र निश्पक्ष छानविन हुने स्थिति निर्माण होस्,’– उनले भने । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्