Logo

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं, ११ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास, कोषका तत्कालीन सदस्य सचिव डा.प्रदिप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पदमा रहँदा अवैध सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियारको अनुसन्धानबाट श्रोत खुल्न नसकेको लगानी एवं सम्पत्ति एक करोड चौवालिस लाख एघार हजार सात सय एकासी रूपैंया एकहत्तर पैसा फेला परेको खख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

‘सार्वजनिक पद धारण गरेका निज प्रदिप ढकालले प्रचलित कानूनबमोजिम पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वभाविक देखिनुका साथै अस्वभाविक उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरुपयोग गरी रु।१,४४,११,७८१.७१ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज प्रदिप ढकालउपर निजले पदको दुरूपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति रु.१,४४,११,७८१.७१ (एक करोड चवालीस लाख एघार हजार सात सय एकासी रूपैंया एकहत्तर पैसा) विगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २ को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय गरी पाउनका साथै प्रतिवादी प्रदिप ढकालले जाँच अवधिमा गैरकानूनी रूपमा आर्जन गरेको श्रोत नखुलेको बिगो निजको नाममा हाल कायम रहेको घर जग्गाबाट प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’– अख्तियारको विज्ञप्तिमा भनिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot