Logo

सात जना गैरनेपालीले पर्साबाट लिए नेपाली नागरिकता, पटक–पटक उजुरी पर्दा पनि भएन छानविन (प्रमाणसहित)



काठमाडौं, १२ असार । झुटा विवरण पेश गरी एकाघरका सात जना भारतीय नागरिकले नेपाली नागरिकता लिएका छन् । भारतको विहार राज्यअन्तर्गत पर्ने आदापुर क्षेत्र हरपुरथाना श्रीसिया कला वार्ड नं–४ स्थायी ठेगाना भएका रामनाथ साह सोनार र नीजकी श्रीमती कान्ति देवी, शम्भु साह सोनार र नीजकी श्रीमती पार्वती देवी र शम्भु र पार्वतीका छोरा गोपालप्रसाद सोनार तथा भारतमा बच्चा साह नामले चिनिने रामनरेश साह सोनार र निजकी श्रीमती मञ्जुदेवीले नेपाली नागरिकता लिएका हुन् ।

उनीहरुले झुठो विवरण पेश गरी केही कर्मचारीहरुको मिलेमतोमा नेपाली नागरिकता प्राप्त गरेका हुन् । नेपाली नागरिकता प्राप्त गरेपश्चत उनीहरु नेपालमा विभिन्न किसिमको अवैध कार्यमा संलग्न रहँदै आएका छन् । सुन चाँदीको तस्करी, अवैध भारतीय रुपैयाको कारोबार हुन्डी लगायत लागूऔषध ओसार पसार तथा कारोबारमासमेत संलग्न रहेका छन् । अवैध धन्दाबाट उनीहरुले नेपालमा अकुत सम्पत्ति आर्जन गरेका छन् । उनीहरुले पर्सा जिल्ला साविकको बगही गाविस वडा नं–३ हाल विरगञ्ज महानगरपालिका वडा नं–२८ स्थायी ठेगाना राखेर नागरिकता लिएका हुन् ।

सोनार दाजुभाइहरुको भारतको विहार स्थित पन्चायत आमनिर्वाचन नामवली सन् २०२१ मा नाम रहेको भोटर आईडी समेत फेला परेको छ। भारतीय नागरिक महादेव साह सोनारका छोरा रामनाथ साह सोनार, नेपालमा रामनरेश साह सोनारको नामले नेपाली नागरिकता प्राप्त गरेका (भारतमा बच्चा साह सोनारको नामले चिनिएका) उनीहरु भारतमा पनि विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको खुलेको छ । उनीहरुको नाममा विहारको मोतीहारी जिल्ला अदालतमासमेत अनेकौ मुद्दा रहेको खुलेको छ ।

रामनाथ साह सोनार नेपालमा कुख्यात सुन तस्करको नामले प्ररिचित छन् । उनका माईला छोरा सन्दीप सरार्फलेसमेत आफ्नो बुवाले सञ्चालन गरेको सुनतस्करी र हुण्डीको कारोबार सघाउँदै आएका छन् । उनीहरुको वीरगञ्ज माईस्थान ३ नम्बर रोडमा आर.के.एण्ड सन्स नामक सुनचाँदस् कारोबार गर्ने पसलको आडमा अवैध धन्दा चलाउँदै आएका छन् ।

त्यसैगरी, भारतमा बच्चा साह सोनारको नामले कुख्यात पहिचान बनाएका रामनरेशले अहिले वीरगञ्जको माईस्थानमा जय माँ दुर्गे ज्वेलर्स, माँ दुर्गे मनि चेन्जर र मा दुर्गे मनि ट्रान्सफर सञ्चालन गरिरहेका छन् । उनले त्यसैको आडमा सुन चाँदीको तस्करी, अवैध भारतीय तथा विदेशी मुद्राको कारोबार र लागुऔषधकोसमेत कारोबार सञ्चालन गर्ने गरेका छन् । अवैध कारोबारको आडमा उनले अकुत सम्पत्ति आर्जन गरेका छन् । उनी र उनीकी श्रीमती मन्जु देवी सोनारिनको नाममा अहिले चितवन जिल्ला अदालतमा लागुऔषध (खैरो हेरोईन) कारोबारमा संलग्न रहेको अभियोगमा मुद्दा विचाराधीन छ ।

रामनरेशका भतिज पर्ने गोपालप्रसाद सोनार पनि उक्त अवैध धन्दामा संलग्न रहेका छन् । निजहरुमाथी जिल्ला प्रसाशन कार्यालय पर्सामा दोहोरो नागरिकता मुद्दा तथा सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान विभागमासमेत मुद्दा  परिसकेको छ। त्यसैगरि जिल्ला प्रसाशन कार्यालय पर्साले नागरिकता छानबिनका लागि गृहमन्त्रालयमासमेत सिफारिस गरिसकेको तथ्य सार्वजनिक भएको छ। हालसम्म निजहरु निधर्क साथ आफ्नो कारोबार संचालनमा राखेका छन।

रामनाथ साह सोनारको नेपाली नागरिकतामा स्थायी ठेगाना विरगञ्ज नगरपालिका वडा नम्बर–९ उल्लेख छ । उनको जन्म मिति २०२२ फागुन ५ गते उल्लेख छ । उनको बाबुआमाको नाम महादेव साह सोनार र वास्मती देवी सोनारिन उल्लेख गरिएको छ । रामनाथको नागरिकता नम्बर ०४४६२०२५ रहेको छ ।

त्यसैगरी, रामनाथका भतिजा गोपालप्रसाद सोनारको नागरिकतामा जन्म मिति २०३३ चैत्र ७ गते रहेको छ । भने उनको बाबुको नाम शम्भु साह सोनार उल्लेख छ । उनको नागरिकता नम्बर ०४४६२२१९ रहेको छ । त्यसैगरी, राम नरेश साह सोनारको जन्म मिति २०२५ मंसिर ११ गते रहेको छ । उनको नागरिकता नम्बर ०४४६२१७८ रहेको छ । उनी रामनाथका भतिजा हुन् । नागरिकतामा उनको श्रीमतीको नाम मञ्जु देवी सोनार रहेको छ ।

मञ्जुदेवी सोनारसँग पनि नेपाली र भारतीय दोहोरो नागरिकता रहेको छ । उनको नेपाली नागरिकतामा जन्म मिति २०२७ साल उल्लेख छ । मञ्जुदेवीको नेपाली नागरिकता नम्बर २१५८ हो । नेपाली र भारतीय दोहोरो नागरिकता भएका उनीहरु भारतीय मूलको भएको २०७८ कात्तिक १ गते ‘देशभक्त नेपाली’ भन्ने संस्थाले जिल्ला प्रशासन कार्यालय पर्सामा दिएको उजुरीमा उल्लेख छ ।

     

 

नेपाली नागरिकता लिएका भारतीय नागरिकहरुले सञ्चालन गरेको व्यवसाय



प्रतिक्रिया दिनुहोस्