Logo

केन्द्रीय कारागारका जेलर ललित बस्नेतमाथि अवैध धन्दाको संरक्षक बनेको आरोपमा उजुरीको चाङ, छानविन गर्ने निकाय अझै पनि मौन



काठमाडौं, १२ असार । केन्द्रीय कारागार जगन्नाथ देवलमा अवैध वस्तुहरु खुलमखुल्ला कारोबार हुने गरेको तथ्य बाहिरिएको छ ।कारागारभित्र लागूऔषध, चुरोट र मदिराको वेचबिखन हुने गरेको छ । कारागारका मुल नाईके रमेश भन्ने बै लामा, चौकिदार प्रभाकर नरसिंह राणा, ठूलो वैदार प्रीतम् मानन्धर जस्ता कैदी बन्दीहरु प्रशासनको जेलर भवनसम्म सहज रुपमा आउन पाउने र उनीहरु आउँदा, जाँदा चेक जाँच नहुने व्यवस्था रहेको छ । उक्त व्यवस्थाको फाइदा उठाउँदै उनीहरुले जेलभित्र लागूऔधष, चुरोट, मदिरा जस्ता निषेधित वस्तुहरु भित्र लाने गर्छन् । उनीहरुले त्यसरी कारागारभित्र छिराएको लागू औषध र मदिरा कैदी बन्दीलाई जबरजस्ती खुवाई धाक धम्कीको आधारमा पैसा असुल गर्ने गरेका छन् । उक्त पैसा प्रहरीको इन्चार्ज रहेका डिएसपीदेखि जेलरसम्म पुर्याइ आफू संरक्षणमा रहने गरेका छन् ।

उक्त घटनालाई लिएर सरकारका विभिन्न निकायमा उजुरी परेपनि सबै निकायहरु अझै मौन रहेका छन् । कारागारमा गैरकानुनी धन्दामा चौकीदार प्रभाकर नरसिंह राणा, मुल नाईके रमेश भन्ने बै लामा, ठूलो बैदार प्रीतम मानन्धर, जेलर ललित बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीहरुविरुद्ध २०८० जेठ ३१ गते अख्तियारमा उजुरी परे पनि अख्तियारसमेत अहिलेसम्म मौन छ । सूचना चुहाएको आरोपमा कैद भुक्तान गरिरहेका विष्णु पाण्डे, नहकूल तामाङ र शेरबहादुर बस्नेतलाई कारागार प्रशासनले अमानवीय व्यवहार गरिरहेको उनीहरुको पारिवारिक स्रोतले बताएको छ । कारागार प्रशासनले कैदीबन्दीको नाममा आएको (सिदा) चामलमा समेत भ्रष्टाचार गरेको अख्तियारमा परेको उजुरीमा उल्लेख छ । उनीहरुले सेटिङका आधारमा कैदीबन्दीको नाममा आएको चामल खाद्य संस्थानको गोदामबाटै अन्तै सप्लाई गर्ने गरेको उजुरीमा उल्लेख छ ।

केन्द्रीय कारागारको भद्र गृहमा कैद भुक्तान गरिरहेको विष्णु पाण्डेका बाबु नरबहादुर पाण्डेले आफ्नो छोरा सेन्टर जेलमा बसेको ६ वर्ष भएको र अहिलेसम्म छोराले जेलर र नाईकेलाई दिन पटक–पटक घरबाट पैसा मगाएको बताए । आफूले अहिलेसम्म जेलर र नाईकेलाई दिन छोरालाई छ लाख रुपैयाँ पठाएको उनको भनाई छ । आफूले जग्गा धितो राखेर र ऋण गरेर ६ लाख पैसा पठाएको उनले बताए ।

अवैध वस्तुको कारोबारको अलवा कारागारभित्र आन्तरिक सेटिङको आधारमा तरकारी तथा खाद्यान्न पसलले चर्को मुल्य लिई विकि गर्ने, कैदीबन्दीको रकमको ५० प्रतिशतभन्दा बढी रकम कमिशन लिने, मिटरव्याज उठाउने, पुल हाउस सञ्चालन तथा वेटिङमा गेम खेलाउनेजस्ता अवैध धन्दा पनि हुने गरेको उजुरीमा उल्लेख छ । कैदीबन्दीलाई पैसा व्याजमा लिन उकास्ने र एक सय रुपैयाँ बराबर प्रतिमहिना पाँच रुपैयाँ मिटरब्याज बापत लिनेगरेको पनि उजुरीमा उल्लेख छ ।

यसरी, कारागारभित्र हुने गरेको अवैध गतिविधि र कैदीबन्दीमाथि भएको अमानवीय व्यवहारलाई लिएर उजुरी परेपनि उक्त गतिविधिमा संलग्न रहेको आरोप लागेका चौकीदार प्रभाकर नरसिंह राणा, मुल नाईके रमेश भन्ने बै लामा, ठूलो बैदार प्रीतम मानन्धरलाई जेलर बस्नेतले संरक्षण गरेर सूचना चुहाएको आरोपमा विष्णु पाण्डे, नकुल तामाङ र शेबहादुर बस्नेतलाईलाई कारबाही गरेका छन् ।

पीडित कैदीबन्दीका आफन्तहरुले उजुरीमाथि उचित छानविन नभएको दुखेसो पोखेका छन् । उनीहरुले उजुरीमाथि उचित छानविन नभए न्यायका लागि मानव अधिकार आयोग र अदालतसमेत जाने बताएका छन् । उनीहरुमाथि कारागार व्यवस्थापन विभाग कालिकास्थान, जिल्ला प्रशासन कार्यालय काठमाडौं र गृहमन्त्रालयमासमेत उजुरी परेपनि अहिलेसम्म छानविनका लागि कुनै निकायले पनि तदारुकता देखाएका छैनन् । जेलर बस्नेत आफ्नै मनोमानीमा चलिरहेको र  कारागारभित्र हुने बेथितिको विरोध गर्ने कैदीबन्दीमाथि कुटपिट गर्ने र मानसिक यातना दिने गरेको कैदीबन्दीको पारिवारिक स्रोतको दाबी छ ।

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्