Logo

रास्वपा नेता खनाललाई धमलाको प्रश्नः ‘ओलीसँग मिलेर सरकार गिराउन लागेको हो ?’



काठमाडौं, १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री शिशिर खनालले आफूहरु अहिले सरकार ढाल्ने र नयाँ बनाउने पक्षमा नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु सरकारको स्थिरताको पक्षमा रहेको बताएका हुन् । ‘हामी संसद्मा आफ्नो भूमिकामा प्रभावकारी रुपमा प्रस्तुत भइराखेका छौं । हामी सरकार बनाउने, गिराउने कुनै पनि खेलमा सामेल छैनौं,’– उनले भने ।

‘केपी शर्मा ओलीको नेतृत्वमा रास्वपा र राप्रपा मिलेर नयाँ गठबन्धन बन्दैछ रे ? त्यो सम्भावना छ कि छैन ?’ भन्ने धमलाको प्रश्नमा केन्द्रीत हुँदै उनले भने, ‘अहिलेलाई म त्यो सम्भावना देख्दिन । त्यसकोबारेमा हाम्रो पार्टीमा छलफल पनि सुरु भएको छैन । सरकार गिर्नु, बन्नु भनेको अहिलेकै गठबन्धनको आन्तिरिक द्वन्द्वले भयो भनेमात्रै हो त्यसमा हामी सामेल छैनौं । हामी चाहन्छौं सरकार स्थायी हिसाबले चलोस्, त्यसमा हाम्रो गुनासो छैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जति गर्नुपर्ने त्यति गर्न नसकेको उनको आरोप छ । आफूले सरकारलाई पटक–पटक सचेत गराइरहेको र संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निभाइरहेको उनले बताए । रास्वापाको सदनमा प्रस्तुतिका कारण पनि अहिले सदनप्रति जनताको चासो बढेको उनको दाबी छ । उनले रास्वपाले जनताको मुद्दाहरुलाई सदनमा प्रष्ट रुपमा राखिरहेको बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot