काठमाडौं,१३ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेका पूर्व प्रधानमन्त्रीहरुलाई संसदबाटै स्पष्टीकरण सोध्ने व्यवस्था गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद सुवालले २०४९ सालदेखि २०६६ सालसम्म मुलुकमा प्रधानमन्त्री भएका सबै पूर्व प्रधानमन्त्रीहरुलाई प्रष्टीकरण माग गर्ने निर्णय गर्न माग गरे ।
सरकारी जग्गालाई व्यक्तिको नाममा र व्यक्तिको जग्गालाई सरकारको नाममा साटफेर गर्ने तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्को निर्णयका आधारमा सुरु भएको यस प्रकरणमा झण्डै १५० रोपनी भन्दा धेरै सरकारी जग्गा अपचलन भएको अख्तियारको दाबी रहेको छ ।
यस प्रकरणमा नाम मुछिएका सात आरोपीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीलो पक्राउ गरेको थियो । जसमा मालपोत कार्यालय डिल्ली बजारका हाकिम सहसचिव कलाधर देउजा, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायतका रहेका छन् ।