Logo

कोशी प्रदेश : पहिचानवादी र सरकारबीचको वार्ता स्थगित



काठमाडौं,१३ असार । तत्कालिन प्रदेश नम्बर १ को नाम कोशी राखिएपछि आन्दोलित बनेका पहिचानवादी र प्रदेश सरकारबीच आज हुने भनिएको वार्ता स्थगित भएको छ ।

प्रदेशको नाम पुनः संशोधन गर्न माग गर्दै आन्दोलनरत पक्षले सरकारसँग वार्तामा बस्न अस्वीकार गरेपछि आजको लागि निर्धारित वार्ता स्थगित भएको हो ।

सरकारले संघर्ष समिति र अन्य दललाई एकै पटक एकै स्थान र समयमा वार्ताकालागि बोलाएको भन्दै संघर्ष समितिले सरकारी टोलि वाहेक अन्य टोलिसँग वार्तामा बस्न अस्वीकार गरेको छ ।

गत फागुन १७ गते प्रदेशको नाम कोशी नामाकरण भएपछि अशान्त रहेको तत्कालिन प्रदेश नम्बर एक हालसम्म पनि शान्त बन्न सकेको छैन ।

पहिचानको आन्दोलन चर्कदै जाँदा गत चैत १० मा पहिचानवादीका पक्षबाट आन्दोलनमा होमिएका पदल लिम्बूको प्रहरीको गोलीबाट मृत्यु भएपछि पहिचानवादीहरु सरकारविरुद्ध झनै आक्रमकरुपमा प्रस्तुत भएका छन् ।

प्रदेश सरकारले २४ जेठमा आन्दोलनरत पक्षसँग वार्ता गर्न मन्त्री मेन्याङ्बोको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले ५ असारमा पहिलो पटक आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्