Logo

ललिता निवास प्रकरणमा भुरालाई ढोक्सामा पार्ने र ठूलालाई छोड्ने काम नहोस्ः कांग्रेस नेता खतिवडा



काठमाडौं, १३ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले ललिता निवास प्रकरणमा कसैलाई पनि उन्मुक्ति दिन नहुने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रकरणमा साना माछा समाएर ठूला माछालाई उन्मुक्ति नदिन सरकारको ध्यानाकार्षण गराएका हुन् ।

‘ललिता निवास प्रकरणमा साना माछाहरु ढोक्सामा पर्न लागेको सुनियो । ठूला चार अना, आठ आना, सोह्र आना र बत्तिस आनाका माछा पनि ढोक्सामा पर्ने व्यवस्था सरकारले गरोस् । भुरालाई जालमा हाल्ने र ठूलालाई छोड्ने काम नगरोस्,’– उनले भने ।

साथै, पशुपतिनाथको जलहरी प्रकरणमा दुईथरीको मुचुल्का तयार भएको पाइएको उनले बताए । पहिले तयार पारिएको मुचुल्कामा एकथरी तौल र अहिले तयार पारिएको मुचुल्कामा अर्को तौल रहेको उनको आरोप छ । उक्त प्रकरणमा सत्यतथ्य छानविनका लागिसमेत उनले माग गरेका छन् । जलहरी प्रकरणमा १३ जनाको नाम लेखिएको स्वर्ण पत्र फेला परेको स्मरण गर्दै उनले केही ड्राईभर, कार्यालय सहयोगी, पिएसओहरु, मन्त्री, प्रधानमन्त्रीका पिएहरुको नाम छुटेकाले उनीहरुको नाम लेखाउने व्यवस्था गर्न उनले आग्रह गरे ।

‘जलहरी प्रकरणमा दु्ई वटा मुचुल्का तयार पारेको देखियो । १३ जनाको नाम स्वर्ण अक्षरमा लेखिएको सुचना प्राप्त भयो । केही ड्राईभर, कार्यालय सहयोगी, पिएसओहरु, मन्त्री, प्रधानमन्त्रीका पिएहरु छुटेको कुरा आएको छ । सबैको नाम लेख्ने व्यवस्था मिलाइयोस् । स्वर्ण अक्षरमा नाम लेख्ने परम्पराको विकास होस्,’– उनले भने । File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्