काठमाडौं,१३ असार । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले रणनीतिक सडक योजना अन्तर्गत विनियोजन भएको रकमप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न गर्दै सांसद सिंहले १६५ निर्वाचन क्षेत्रमध्ये १६४ निर्वाचन क्षेत्रलाई प्रति निर्वाचन क्षेत्र १-१ करोड छुट्याउँदा सुर्खेत-१ लाई १० करोड रकम विनियोजन किन गरियो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
‘सुर्खेत निर्वाचन क्षेत्र एक लाई १० करोड रकम विनियोजन गर्नुको कारण के हो ? उक्त क्षेत्र विशेष आरक्षीत क्षेत्र हो वा अन्य कुनै कारणले हो बढि बजेट विनियोजन गरेको,यसबारेमा सरकारसँग प्रष्ट जवाफ माग गर्दछु’ उनले भने ।
सुर्खेत एक कांग्रेस उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र हो ।