काठमाडौं,१३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेपनि संसदमा अन्य विभिन्न कुरामा विवाद सिर्जना गरेर उक्त उपलब्धिलाई ओझेलमा पार्ने काम भएको भन्दै गुनासो व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिनेक्रममा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणका क्रममा महत्वपूर्ण काम गरेको भएपनि सदनमा मूर्रा भैंसी र राँगाकोबारेमा विवाद सिर्जना गरिएको भन्दै दाहालले असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले भने ‘हाम्रो सार्वजनिक बहसको स्तर खस्केको छ। चौतर्फी अविश्वास खडा गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको छ। संसदसँगै पनि मेरो गुनासो छ। भर्खरैको मेरो भारत भ्रमणमा वर्षौंदेखि रोकिएको नेपाल–भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भयो। भारत र तेस्रो विश्वसम्म विद्युत निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रू भएको छ। तर हामीले यति ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैंसी भन्ने विवादमा संसदको लामो समय लियौं। यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे यो सम्मानित संसद गम्भीर होस् भन्ने मेरो आग्रह छ ।