Logo

कारागारभित्र हुने सरुवा र आन्तरिक प्रशासनमा मेरो संलग्नता छैनः सुजन पौडेल



काठमाडौं, १३ असार । लामो समय जेल जीवन विताएर र भर्खरै खुल्ला आकासमा आएका सुजन पौडलले आफू जेलबाट निस्किएपछि सामान्य जीवनमा फर्किन कोसिस गरिरहेको र सामान्य जीवनयापन गरेर बस्न चाहेको बताएका छन् । कारागारभित्र हुने सरुवा तथा आन्तरिक प्रशासनमा उनको संलग्नता रहेको भन्दै विभिन्न सञ्चार माध्यमबाट समाचारहरु प्रकाशन भएपछि उनले एक विज्ञप्ति जारी गर्दै त्यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । उनले प्रकाशित समाचार झूठ, कपोलकल्पित, आधारहीन र व्यक्तिको चरित्रहत्या गर्ने मनसायले लेखिएको बताएका छन् ।

‘विगत केहि दिनदेखि विभिन्न पत्रपत्रिका, टिभी तथा अनलाइनहरुमा प्रकाशित झूठ, कपोलकल्पित, आधारहीन तथा व्यक्तिको चरित्रहत्या गर्ने मनसाय सहित प्रकाशित तथा प्रशारित गरिएको समाचारप्रति मेरो गम्भीर ध्यानाकार्षण भएको छ ।’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कारागारभित्र हुने कुनैपनि कामहरु तथा त्यहाँ हुने सरुवा तथा आन्तरिक प्रशासनमा मेरो कुनै पनि संलग्नता नभएको जानकारी गराउन चाहन्छु ।’

साथै, जेलभित्र चौकिदार बनाउने, नाइके बनाउने लगायतका कामका आफ्नो कुनै पनि संलग्नता नरहेको उनले स्पष्ट पारेका छन् । ‘म जेलबाट बाहिर निस्किएपछि अब सामान्य जीवनमा फर्किन कोसिस गरिरहेको छु र म सामान्य जीवनयापन गरेर बस्न चाहन्छु ।’ उनको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार गृह प्रशासनको पूर्ण निगरानी तथा रेखदेखमा जेलभित्र हुने कुनैपनि कार्यहरुमा जेलबाट मुक्त भैसकेको एक निर्दोष व्यक्तिको पछाडी कोहि पनि लाग्नु खेदजनक
छ ।’

आफूलाई राज्यले विनाकारण १० बर्षसम्म जेलमा राखेको उनको दाबी छ । सरकारले अब सुध्रियो भनेर जेलबाट रिहाइ गरेपछि सामान्य जीवनयापनमा फर्कने कोशिस गरिरहेको र त्यसमा कसैले पनि संका नगर्न उनले आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्