काठमाडौं,१३ असार । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठक आज बस्दैछ । बैठक एमाले प्रदेश संसदीय दलको कार्यालयमा दिउँसो ३ बजे बस्नेछ ।
आजको बैठकमा अल्पमतमा रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि प्रदेश सभाबाट लिन लागेको विश्वासको मतबारे छलफल हुने बताइएको छ ।
तत्कालिन सत्ता साझेदार दल जनता समाजवादी पार्टी र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ बमोजिम बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।
आफु नेतृत्वको सरकार अल्पमतमा परेपछि बजेट अधिवेशन अन्त्य गरि अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका कार्कीले संवैधानिक संकट टार्न नसकेपछि बिहीबारको लागि प्रदेश सभाको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिश गरेका थिए । मुख्यमन्त्री कार्कीको सिफारिश बमोजिम गत सोमबार प्रदेश प्रमुख खापुङले बिहीबार दिउँसो १ बजेका लागि बैठकको आव्हान गरेका छन् ।
भोलि बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्ताव पेस हुनेछ । भोलिका लागि विश्वासको मत लिन बैठक बोलाइए पनि अहिलेसम्म मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने आधार भने प्रष्ट भइसकेको छैन् ।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसको साथ आवश्यक पर्छ तर प्रदेश सरकारलाई समर्थन गर्ने सांसदको संख्या ४६ जना मात्रै रहेको छ । एमालेका ४० र राप्रपाको ६ गरि हाल सरकारलाई समर्थन गर्ने सांसद संख्या ४६ रहेको हुँदा मुख्यमन्त्री कार्कीलाई बहुमत पुर्याउन एक सांसदको साथ भए पुग्नेछ ।
आजको बैठकमा मुख्यत: विश्वासको मत प्राप्त गर्ने वातावरण तयार गर्ने र विश्वासको मतका लागि सबै दलसँग आग्रह गर्ने एमालेको तयारी रहेको छ ।
यसैबीच एमालेले प्रदेश सभामा रहेका आफ्ना सबै सांसदहरुलाई आजै विराटनगर आउन पनि खबर गरेको छ ।
मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतलाई जसरी पनि सफल बनाउने रणनीतिमा लागेको एमालेले अन्य दलका सांसदलाई भित्रयाएर भएपनि सत्ता टिकाउने रणनीति लिएको आशंका व्यक्त भइरहेको छ ।
एमालेले बहुमतका लागि आवश्यक एक सांसदको जोहो गर्न सक्छ वा सक्दैन त्यो भने बिहीबार नै प्रष्ट हुनेछ ।