काठमाडौं,१४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत बजेट ल्याउनु आफ्नो बाध्यता भएको प्रष्टीकरण दिएका छन् ।
बिहीबारको प्रदेशसभाको बैठकमा विश्वासको मत माग्नेक्रममा कार्कीले आफुले अध्यादेशमार्फत बजेट ल्याएपनि त्यो संविधानसम्मत भएको जिकिर गरेका थिए ।
उनले भने,‘जेठ ३१ गते नीति तथा कार्यक्रम ल्यायौं । सरकारमा रहेकाले समर्थन फिर्ता ल्याएपछि न हामी विश्वासको मत लिनसक्थ्यौं । न नीति कार्यक्रमलाई रोक्न सक्यौं । न बजेटलाई टार्न सक्थ्यौं । यी तीनवटै कुरा असम्भव थिए । नीति तथा कार्यक्रम आएपछि संविधानको धारा २२० लाई प्रयोग गर्दै त्यो दिन रातिबाट सभा समापन गरेर अध्यादेश ल्याउनुपर्ने बाध्यता भयो । त्यहाँ क कसको कमजोरी भयो भोलिका दिनमा देखिन्छ । असार १ गते बजेट ल्याइसक्नुपर्ने थियो । बजेट ल्याउँदा नल्याउँदा समस्या हुने भएकाले मैले संविधानको धारा २२० लाई आत्मसाथ गर्दै जेठ ३२ गते बजेट ल्याएको हुँ ।’