Logo

बजेट राम्रो छैन भनेर कुनै सांसदले भन्नुभएको छैन, उहाँहरुको गुनासो आफ्नो क्षेत्रमा भनेजति भएन भन्नेमात्रै होः अर्थमन्त्री महत



काठमाडौं, १५ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट विनियोजनलाई आफूले सकभर समावेशी बनाउने प्रयास गरेको र सोही बमोजिम भएको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बाहिर हल्ला आएजस्तो आफूले कुनै क्षेत्रमा पनि बजेट विनियोजनमा पक्षपातपूर्ण व्यहार नगरेको बताएका हुन् ।

साथै बजेट पारित गराउनलाई ध्वनी मत बाटै आफूहरुको बहुमत पुग्ने भएपनि विपक्षी दलको माग अनुरुप मतदानमा गएको उनले बताए । विपक्षीको प्रस्तावलाई आपत्ति गर्नुपर्ने कुनै कारण नदेखेकाले आफूहरुले मतदानबाटै बजेट पारित गराएको उनले बताए । ‘ध्वनी मतबाटै हाम्रो बहुमत छँदैथियो । अर्को प्रक्रियामा जानपर्ने आवश्यकता थिएन । तैपनि विपक्षी दलले माग गर्नुभयो । हामीले कुनै आपत्ति गर्न पर्ने देखेनौं,’– उनले भने ।

अहिलेको बजेट कार्यान्वयनका लागि सरकार भरपूर रुपमा लागिपरेको उनको दाबी छ । यसका लागि सम्पूर्ण राजनीतिक दल गम्भीर हुन आवश्यक रहेको उनले बताए । समय अभावका कारण कतिपय महत्वपूर्ण कुरा बजेटमा समावेश हुन नसकेको उनको स्वीकारोक्ति छ । समग्रमा अहिलेको बजेटले एउटा महत्वपूर्ण दिशा निर्देश गरेको र सांसदहरुले यसलाई महत्वका साथ सुनेको उनको दाबी छ । कुनै सांसदले पनि बजेट राम्रो छैन नभनेको तर, आफ्नो क्षेत्रमा परेन भनेरमात्रै गुनासो गरेको उनको भनाई छ ।

बजेटमा कमा र फुलिस्टपले परिवर्तन नहुने भएको भए किन यतिलामो समय संसद्मा छलफल गर्नुभयो त ? भन्ने धमलाको प्रश्नमा उनले भने,– ‘हाम्रो प्रचलन नै के भयो भने संसारभरीका अधिकांश ठाउँमा यस्तै हुन्छ । बजेट प्रस्तुत हुनुभन्दा अगाडि नीीत तथा कार्यक्रममा छलफल हुन्छ । त्यसपछि प्राथमिकता र सिद्धान्तमा छलफल हुन्छ । त्यो कुरालाई हामीले गम्भीरताका साथ सुन्छौं । त्यसलाई मध्येनजर गरेर बजेटको प्रस्तावमा ल्याउँछौं । तर, यसपाला चाहिँ समय सीमा कम भएको हुनाले कतिपय त्यहाँ आएका विषय वस्तुहरुलाई पनि मन्त्रालयगत रुपमा मन्त्रालयहरुलाई विश्वासमा लिएर पुराना प्रकृतिका जुन कार्यक्रम थिए, कतिपय चाहिँ परिवर्तन गर्न र नयाँ रुपमा प्रस्तुत गर्न सकिन्थ्यो । बढी प्रभावकारी ढंगबाट राख्न सकिन्थ्यो । त्यो राख्ने समय पुगेन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot