काठमाडौं, १५ असार । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल(फेकन) को अध्यक्षमा प्रज्वल बस्नेतले उम्मेद्वारी घोषणा गरेका छन्। वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका बस्नेत अध्यक्ष पदका लागि उम्मेदवार बनेका हुन्।
उनले असार २३ गते हुन लागेको फेकनको महाधिवेशनमा अध्यक्ष पदका आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन्। बस्नेतले मंगलबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। उनीसँगै फेकनमा हालका महासचिव राजु निरौलाले पनि अध्यक्ष पदमा नै उम्मेद्वारी घोषणा गरेका छन्।
बस्नेत फेकनको स्थापनाकालदेखि नै सक्रियरुपमा रहेका छन्। उनले यस क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन फेकनको सुरुदेखि नै शिक्षा मन्त्रालयलगायत निकायसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरेका छन्। यसअघि बस्नेत फेकनको उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षमा दुई कार्यकाल आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन्।
सक्सेस एजुकेशन कनसल्टेन्सीका सञ्चालकसमेत रहेका बस्नेतले शैक्षिक क्षेत्रमा देखिएका विकृतिलाई हटाउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन्। फेकनमा प्रतिस्पर्धा भन्दा पनि सहमतिमा महाधिवेशनमा सम्पन्न गराउनेमा आफ्नो जोड रहेको उनको भनाई छ।