काठमाडौं, १५ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्किएका छन्। गत ३ असारको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो भौतिक क्षति भएको थियो।
मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो भने केही स्थानका बेलिब्रिज र झुलुङगे पुल पनि बगाएको थियो।
केही स्थानको सडक पनि अवरुद्ध बनेको थियो। हेवा खोला पुल बगाएको २ दिनभित्र बेलिब्रिज निर्माणको काम थालिएको थियो। हेवा खोलामा डाइभर्सन बनाएर मेची राजमार्ग सुचारु पनि भएको थियो। तर, फेरि बाढी आउँदा डाइभर्सन बगाएको छ।
हेवा खोलामा बेलिब्रिजको काम तीव्र रूपमा भइरहेको छ। निर्माणाधीन बेलिब्रिज र भौतिक क्षति भएका क्षेत्रको दुई दिने स्थलगत भ्रमणका लागि पूर्वी नेपाल प्रस्थान गरेका छन्।
मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपमहानिर्देशक रामहरि पोखरेललगायत प्राविधिकको टोली पनि भ्रमणमा रहेको छ।