Logo

कम्युनिष्टकै शासन कालमा राष्ट्रियतामाथि प्रतिगमन भयोः महासचिव मैनाली



काठमाडौं, १५ असार । पुष्पलाल अध्ययन केन्द्रले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा जन्म शताब्दी समारोह समिति घोषणा गरेको छ । पुष्पलाल श्रेष्ठ ९९औं वर्ष पुरा गरी एक सय वर्षमा प्रवेश अवसरमा आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा अन्तरक्रिया कार्यक्रम गरी आगामी एक वर्षभित्र गर्ने कार्यक्रमको घोषणा गरेको हो । पुष्पलाल वि.सं. १९८१ आसार १५ गते रामेछापमा जन्मिएका थिए ।

पुष्पलालको जन्म जयन्तीको अवसरमा विभिन्न कम्युनिष्ट नेताहरुले उनको तस्विरमा पुष्प अर्पण गरेका थिए । सोही अवसरमा नेकपा मालेका महासचिव सीपी मैनालीले पुष्पलालको स्मृतिमा बन्न लागेको भौतिक संरचना पुरा गर्नका लागि उनले सबै समक्ष आग्रह गरे । कम्युनिष्ट आन्दोलन ७५ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै उनले यसबीचमा आन्दोलनले धेरै आरोह अवरोह व्यहोरेको बताए । देशको वस्तुस्थिति र परिवेशको सन्दर्भमा विगतका नीतिहरुको समीक्षा हुन आवश्यक रहेको उनले बताए ।

‘जे जति कार्यक्रम राख्नु भएको छ, ठिकै छन् । तर, यसको सबै भन्दा महत्वपूर्ण कुरा चाहिँ यो ७५ वर्षको समीक्षलाई प्राथमिकता दिनुपर्छ । किनभने यो ७५ वर्ष पुष्पलालसँग जोडिएका विषय हुन । अहिलेको यो भद्रगोल भएको कुरालाई विर्सिएर खाली हामीले राम्रा–राम्रा कुराहरुको मात्रै लेखाजोखा गर्ने कुरामात्रै गयौं भने हामी आन्दोलनप्रति गम्भीर नभएको ठहर्छ,’– उनले भने ।

कम्युनिष्टहरु पुष्पलालहरुको आन्दोलनप्रति गम्भीर हुन आवश्यक रहेको उनले बताए । कम्युनिष्ट र कांग्रेसकै शासन कालमा राष्ट्रियतामाथि प्रतिगमन गरेको उनको आरोप छ । भारतसँगको विवादित भू–भागको समस्या समाधान हुन नसकेको भन्दै उनले आपत्ति जनाए । नेताहरुका राम्रा कुराको गुणगानलेमात्रै प्रतिगनमलाई सच्याउन बल नपुगेको उनको ठम्याईँ छ ।



प्रतिक्रिया दिनुहोस्