Logo

रोमानिया घटनाले मेरो मनमा गहिरो चोट पुगेको छ: प्रकाश सपुत



काठमाडौं,१५ असार । सांगीतिक कार्यक्रमको सिलसिलामा रोमानिया पुगेका सर्जक एवं लोक तथा दोहोरी गाएक प्रकाश सपुतमाथि भएको आक्रमणको प्रयासप्रति उनका समर्थकहरुले विरोध गरिरहेका छन् ।

असार १० गते राति आफ्नो प्रस्तुती दिइरहँदा सपुतमाथि एक युवाले बियरको बोतल प्रहार गरेका थिए । बोतल प्रहारबाट सामान्य घाइते भएका सपुतले केही समयको आरामपछि आफ्नो प्रस्तुतिलाई निरन्तरता दिएका थिए ।

‘याद नेपाली म्युजिक फेस्टिभल–२’ नामक कार्यक्रममा सहभागी हुन गएका सपुतमाथि भएको आक्रमणप्रति सडक देखि सदनसम्म कुरा उठेको थियो । लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाललेसमेत विज्ञप्ति जारी गर्दै भत्र्सना गरेको थियो । सपुत आफै पनि उक्त प्रतिष्ठानका निर्वाचित सचिव हुन् ।

सपुतमाथि बोतल प्रहार गर्ने युवालाई नियन्त्रणमा लिइएकोमा सपुतले उनलाई माफी दिएका थिए । उक्त घटनाको बारेमा लामो स्ट्याटस लेखदै सपुतले उक्त घटनाका कारण आफ्नो मनमा गहिरो चोट परेको उल्लेख गरेका छन् ।

आफ्नो धारणा सार्वजनिक गर्दै सपुतले आफुलाई मनोरन्जन प्रदान गर्ने, प्रेम र खुसी बाड्ने र आफ्नो सिर्जना मार्फत समाज, सरकार र व्यवस्थालाई प्रश्न गर्दै अगाडि बढ्ने यात्रालाई अब कुनै बिचार, वचन र बोत्तलको प्रहारले रोक्न नसक्ने बताएका छन् ।

उनले लेखेका छन् ‘सर्वप्रथम घट्नाको घोर भत्सर्ना र निन्दा गर्दै कला र कलाकारको सम्मान र सुरक्षाको पक्षमा वकालत गर्नुहुने सम्पुर्ण कलाकर्मी, संगितकर्मी,अधिकारकर्मी,मिडियाकर्मीहरु,राष्ट्रीय लोक तथा दोहोरी गित प्रतिष्ठान लगायतका सम्पुर्ण संघसंस्थाहरु लाई धन्यबाद । घट्ना थाहा पाएर चासो,चिन्ता र शुभेच्छा प्रकट गर्नुहुने संसार भरी छरिएर रहनु भएका नेपाली शुभेच्छुक,शुभ-चिन्तकहरुमा आभारी छु । मायाको साटोमा माया !

घट्ना संग अरु कुनै ख़राब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको यो घटनाले मेरो मनमा गहिरो चोट पुगेको छ । अहिले मानसिक रुपमा अलि विक्षिप्त भएको छु । हुनत सार्वजनिक छवि भएका संसारभरिका विभिन्न व्यक्तिहरुको जिवनमा आईपर्ने यस्ता घटना र किस्साहरु पढ्दै,सुन्दै आएको हो । तर स्वयम आफु चाहि तयार भैसकेको रहेनछु । भर्खर यात्रा शुरु गरेको छु । यात्रा सजिलो छैन भन्ने त थाहा छ तर यस्तो अनेपक्षित घट्नाहरुले यात्रा अफ्ठ्यारो मात्रै होईन डरलाग्दो पनि रहेछ जस्तो अनुभव भैरहेको छ । कोभिड पछाडि यस्तो डर (एन्जाईटि) लाई पटक पटक जित्दै आएको भएर यो डर पनि जित्ने छु । जित्नु पर्छ !!

(मानसिक स्वास्थ्य बारे खुलेर कुरा गरौ है )
बोत्तल प्रहार गर्ने युवाको आचरण र परिस्थिति म राम्रो संग जान्दछु । मैले मेरो जिवनकालमा यस्तो स्वभावका धेरै साथीहरुको संगत गरेको छु । त्यसमाथी सानै उमेरमा ठुलो रकम तिरेर विदेश जानु पर्ने बाध्यताले धेरै नेपालीहरुमा चरम निरासा र मानसिक स्वास्थ्य समस्या देखिन थालेको छ । म विदेश कार्यक्रमहरुमा जादा प्राय सबै ठाउमा यो विषयमा छलफल हुने गरेको पनि छ । यो घट्ना एउटा संयोग मात्रै होईन हाम्रो बाध्यता र परिस्थितिको उपज पनि हो । मैले आफ्नो सिर्जनामा यो विषय समेट्दै आएको छु । र सधै हाम्रो राज्य व्यवस्था, सरकार र नेतृत्व संग प्रश्न गरिरहनेछु !
अन्त्यमा,
यो तस्विर पनि रोमानिया कै हो । हामी लन्चको लागी एउटा ईटालियन रेष्टुरेन्टमा जादा म आएको थाहा पाएर भित्र किचनमा काम गरिरहेका नेपाली दाजुहरुले म्यानेजर संग अनुरोध गरेर आफ्नो कामको पोशाक मै म संग तस्विर लिनुभएको थियो । पछि म्यानेजरले रोमानिया भाषा मैं हामी लाई भन्दै थिए “ यिनिहरुलाई यत्ति धेरै ख़ुशी मैले कहिल्यै देखेको थिईन ” यो सुनेर म झनै ख़ुशी भए। हामी सबै आफ्नो-आफ्नो कर्म गरेर जिवन चलाउछौ । जिवन कटाउछौ । यसरी आफ्नो कर्मले अरुलाई ख़ुशी बाड्न पाउनु नै मेरो जिवनको सबै भन्दा ठुलो उपलब्धि हो । मैले कमाएकै तपाईहरुको प्रेम हो । शुभेच्छा हो र आम मानिसको भन्दा अलिकति फराकिलो पहिचान हो ।

बाकि धनपैसा त अरु कुनै पेशा गरेर पनि कमाउन सकिन्थ्यो किनकि म पहिले देखिनै आफ्नो परिवार, जिवन र भविष्य प्रति ज़िम्मेवार र सचेत मानिस हु । एक किसिमको प्रगति मैले जुनसुकै पेशामा पनि गर्न सक्थे ।

जिवन आफैमा एउटा यात्रा हो । यो यात्राको लागी म हिडेको बाटो मेरै रोजाई हो । यसका सबै उतार-चढ़ाव स्विकार्य छ । तर यस्तो घट्ना घटाउने र माफि मै मिलाउने गलत नजिर नबसोस । प्रेम, सम्मान, सुरक्षा, संस्कार ,हार्दिकता, मानवता हामी सबैमा हुन जरुरी छ । समय परिस्थितिवश यस्तो घट्नाहरु घट्छन । गल्ती कमजोरी हुन पुग्छन । यसलाई जसो तसो स्विकार्न र सन्तुलन गर्न सकिन्छ । अब गोली नै ठोके त अलग कुरा भयो तर कसैले यस्ता सानातिना घट्ना घटाएर, निरन्तर नकारात्मक व्यङ्ग्य र विचार प्रवाह गरेर, प्रत्यक्ष अप्रत्यक्ष वचन लगाएर ख़राब नियतबस मलाई निरुत्साहित गर्ने सोचिरहनु भएको छ भने तपाई अलरेडि असफल सोचमा हुनुहुन्छ किनकि मानिसहरुलाई मनोरन्जन प्रदान गर्ने, प्रेम र खुसी बाड्ने र आफ्नो सिर्जना मार्फत समाज, सरकार र व्यवस्थालाई प्रश्न गर्दै अगाडि बढ्ने मेरो यात्रा लाई अब कुनै बिचार, वचन र बोत्तलको प्रहारले रोक्न सक्दैन !
हस, नयाँ सिर्जना र नया कार्यक्रममा भेटौला है ।
नमस्कार



प्रतिक्रिया दिनुहोस्

Screenshot