Logo

लोकतन्त्र र विधिको शासन विना नागरिकको अधिकार सुनिश्चित हुँदैनः अर्थमन्त्री महत



काठमाडौं, १५ असार । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वतन्त्रता, लोकतन्त्र र विधिको शासन बिना आम नागरिकको विकास र अधिकार सुनिश्चित हुन नसक्ने बताएका छन् । आज (शुक्रबार) पार्टी कार्यालय सानेपामा आयोजित लोकतन्त्रवादी आदिवासी जनजाति संघको प्रशिक्षण कार्यक्रम मन्त्री डा.महतले भने, ‘लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्ने काम नेपाली कांग्रेसले गरेको हो । यस विषयमा नेपाली कांग्रेस चट्टानझै नउभिएको भए अहिलेको लोकतान्त्रिक गणतान्त्रिक संविधान सम्भव थिएन । यो सन्देश सशक्त ढंगबाट आम जनमानसमा लैजान जरुरी छ ।’

नेपाली कांग्रेसको आदर्श, सिद्धान्त, नीति, यसको इतिहास र संगठनलाई कसरी विस्तार गर्न प्रशिक्षणले सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरे । आम आदिवासी जनतालाई नेपाली कांग्रेससँग कसरी र किन जोड्नेबारे प्रशिक्षण कार्यक्रममा योगदान रहने उनको भनाई छ ।

कांग्रेसले समावेशितालाई नेपालको राजनीतिमा प्रवेश गराएको स्मरण गर्दै उनले भने, ‘नेपाली कांग्रेसको विधानमा महिला, आदिवासी, जनजाति, मधेश, दलित र कर्णालीलाई समावेशिता सिद्धान्तको हिसाबले पार्टी संरचनामा आरक्षण सुनिश्चित गरेको हो । अरु दल पनि यो बाटोमा हिड्ने परिवेश बन्यो ।’

मन्त्री महतले जनजातिसँग जोडिएको संस्कृति, सभ्यता र रितिरिवाजले नेपाललाई समृद्ध बनाएको बताए । पूर्वका राई, लिम्बु सुनवार, तराईका सतार, राजवंशी, बागमतीका तामाङ शेर्पा, उपत्यकाका नेवार समुदाय बिना नेपाल पूर्ण नहुने उनको भनाई छ । महतले नीति सिद्धान्त, कार्यक्रम, पार्टीले गरेको काम सशक्त ढंगले आम जनतामाँझ लैजान नसक्नु नेपाली कांग्रेसको कमजोरी भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्