Logo

नेपाली नागरिकताको आडमा विभिन्न आपराधिक क्रियाकलाप, पटक–पटक उजुरी पर्दा पनि हुँदैन छानविन



काठमाडौं, १५ असार । नागरिकता व्यक्तिको वैयक्तिक पहिचान हो । नागरिकता राज्य र व्यक्तिबीचको सूचकको अवस्था पनि हो । कानुनको अभावमा नेपालीहरुले नै नागरिकता प्राप्त गर्न लामो संघर्ष गर्नुपर्यो । नागरिकताजस्तो संवेदनशील विषयमा राज्य गम्भीर हुन नसक्दा आफ्नै देशका नागरिक नागरिकताबाट बञ्चित हुनु परिरहेको अवस्थामा अधिकारप्राप्त केही कर्मचारीको लाप्रवाही र प्रलोभनमा गैरनेपालीले भने नेपाली नागरिकता लिएर आपराधिक गतिविधिमा संलग्न भइरहेका छन् ।

रिपोर्टर्स नेपाल डटकमले यसअघि असार ८ गते ‘पर्सामा एकाघरमा चार जनासँग दोहोरो नागरिकता, सिडिओसँगको मिलेमतोमा लिएको खुलासा’ र असार १२ गते ‘सात जना गैरनेपालीले पर्साबाट लिए नेपाली नागरिकता, पटक–पटक उजुरी पर्दा पनि भएन छानविन’ भन्ने शीर्षकको समाचार प्रकाशन गरेको थियो । त्यसपछि विभिन्न सञ्चार माध्यममा दोहोरो नागरिकताको विरुद्दमा समाचार आउँदापनि गृह प्रशासन मौन छ । उक्त घट्नामा अहिलेसम्म छानविनको कुनै कदम अगाडि बढ्न सकेको छैन । दोहोरो नागरिकता लिने कार्यमा संलग्न भारतीय नागरिकहरुको भारतको विहार राज्यका अदालतमा पनि विभिन्न अपराधमा संलग्न रहेको भन्दै मुद्दा चलिरहेको खुलेको छ । उनीहरु नेपाली नागरिकताको आडमा नेपालमा पनि विभिन्न अपराध कर्ममा संलग्न रहेको र त्यसबाट अकुत सम्पत्ति कमाउन सफल भएका छन् । उनीहरुविरुद्द लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा अहिले पनि मुद्दा विचाराधीन अवस्थामा छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा झुटा विवरण पेश गरी एकाघरका सात जना भारतीय नागरिकले नेपाली नागरिकता लिएका थिए । भारतको विहार राज्यअन्तर्गत पर्ने आदापुर क्षेत्र हरपुरथाना श्रीसिया कला वार्ड नं–४ स्थायी ठेगाना भएका रामनाथ साह सोनार र नीजकी श्रीमती कान्ति देवी, शम्भु साह सोनार र नीजकी श्रीमती पार्वती देवी र शम्भु र पार्वतीका छोरा गोपालप्रसाद सोनार तथा भारतमा बच्चा साह नामले चिनिने रामनरेश साह सोनार र निजकी श्रीमती मञ्जुदेवीले नेपाली नागरिकता लिएका थिए ।

नेपालमा रामनरेश साह सोनारको नामले नेपाली नागरिकता प्राप्त गरेका (भारतमा बच्चा साह सोनारको नामले चिनिएका) उनीहरु भारतमा पनि विभिन्न अपराधिक गतिविधिमा संलग्न छन् । उनीहरुको नाममा विहारको मोतीहारी जिल्ला अदालतमासमेत अनेकौ मुद्दा रहेको छ । भारतमा पनि आपराधिक छवि बनाएका उनीहरु नेपाली नागरिकता पाएपछि यहाँ पनि सुन चाँदीको तस्करी, अवैध भारतीय रुपैयाको कारोबार हुन्डी लगायत लागूऔषध ओसार पसार तथा कारोबारमासमेत संलग्न छन् ।

रामनाथ साह सोनार नेपालमा कुख्यात सुन तस्करको नामले प्ररिचित छन् । उनका माईला छोरा सन्दीप सरार्फलेसमेत आफ्नो बुवाले सञ्चालन गरेको सुनतस्करी र हुण्डीको कारोबार सघाउँदै आएका छन् । उनीहरुको वीरगञ्ज माईस्थान ३ नम्बर रोडमा आर.के.एण्ड सन्स नामक सुनचाँदी कारोबार गर्ने पसलको आडमा अवैध धन्दा चलाउँदै आएका छन् ।
त्यसैगरी, भारतमा बच्चा साह सोनारको नामले कुख्यात पहिचान बनाएका रामनरेशले अहिले वीरगञ्जको माईस्थानमा जय माँ दुर्गे ज्वेलर्स, माँ दुर्गे मनि चेन्जर र मा दुर्गे मनि ट्रान्सफर सञ्चालन गरिरहेका छन् ।

उनले त्यसैको आडमा सुन चाँदीको तस्करी, अवैध भारतीय तथा विदेशी मुद्राको कारोबार र लागुऔषधकोसमेत कारोबार सञ्चालन गर्ने गरेका छन् । अवैध कारोबारको आडमा उनले अकुत सम्पत्ति आर्जन गरेका छन् । उनी र उनीकी श्रीमती मन्जु देवी सोनारिनको नाममा अहिले चितवन जिल्ला अदालतमा लागुऔषध (खैरो हेरोईन) कारोबारमा संलग्न रहेको अभियोगमा मुद्दा विचाराधीन छ ।

रामनरेशका भतिज पर्ने गोपालप्रसाद सोनार पनि उक्त अवैध धन्दामा संलग्न रहेका छन् । निजहरुमाथि जिल्ला प्रसाशन कार्यालय पर्सामा दोहोरो नागरिकता मुद्दा तथा सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान विभागमासमेत मुद्दा परिसकेको छ । त्यसैगरि जिल्ला प्रसाशन कार्यालय पर्साले नागरिकता छानबिनका लागि गृहमन्त्रालयमासमेत सिफारिस गरिसकेको तथ्य सार्वजनिक भएको छ । हालसम्म निजहरु निधर्क साथ आफ्नो कारोबार संचालनमा राखेका छन ।

रामनाथ साह सोनारको नेपाली नागरिकतामा स्थायी ठेगाना विरगञ्ज नगरपालिका वडा नम्बर–९ उल्लेख छ । उनको जन्म मिति २०२२ फागुन ५ गते उल्लेख छ । उनको बाबुआमाको नाम महादेव साह सोनार र वास्मती देवी सोनारिन उल्लेख गरिएको छ । रामनाथको नागरिकता नम्बर ०४४६२०२५ रहेको छ ।

त्यसैगरी, रामनाथका भतिजा गोपालप्रसाद सोनारको नागरिकतामा जन्म मिति २०३३ चैत्र ७ गते रहेको छ । भने उनको बाबुको नाम शम्भु साह सोनार उल्लेख छ । उनको नागरिकता नम्बर ०४४६२२१९ रहेको छ । त्यसैगरी, राम नरेश साह सोनारको जन्म मिति २०२५ मंसिर ११ गते रहेको छ । उनको नागरिकता नम्बर ०४४६२१७८ रहेको छ । उनी रामनाथका भतिजा हुन् । नागरिकतामा उनको श्रीमतीको नाम मञ्जु देवी सोनार रहेको छ । मञ्जुदेवी सोनारसँग पनि नेपाली र भारतीय दोहोरो नागरिकता रहेको छ । उनको नेपाली नागरिकतामा जन्म मिति २०२७ साल उल्लेख छ । मञ्जुदेवीको नेपाली नागरिकता नम्बर २१५८ हो ।

उनीहरुको नागरिकता छानविनका लागि जिल्ला प्रशासन कार्यालयमा पटक–पटक उजुरीसमेत परेको छ । उनीहरुविरुद्ध २०७८ साल कात्तिक १ गतेदेखि कै उजुरी जिल्ला प्रशासन कार्यालय पर्सामा तामेलीमा रहेको छ । नागरिकताजस्तो संवेदनशील विषयमा प्रश्न उठ्दा र उनीहरु नेपाली नागरिकताकै आडमा अवैध धन्दामा संलग्न हुँदा पनि राज्य मौन छ । उल्टै उनीहरुविरुद्धको उजुरी लगभग वर्षदेखि तामेलीमा राखिनु आश्चर्यजनक छ । नागरिक राज्यको सम्पत्ति र गहना पनि हुन् । नागरिकले गरेका कार्यका जस अपजसको भागिदार राज्य हुनुपर्दछ । नागरिकका क्रियाकलापले देशको अन्तराष्ट्रिय छविलाई समेट प्रभाव पारिरहेको हुन्छ । यसरी नेपाली नागरिकता सजिलै लिन सकिने र नेपालीको पहिचान बनाएर आपराधिक गतिविधिमा संलग्न भइरहने हो भने भोलिका दिनमा नेपाली नागरिकताको अस्तित्व नै समाप्त हुन्छ । उक्त घट्नाका बारेमा गृह प्रशासन र सम्बन्धित निकायले बेलैमा विचार पुर्याएर उचित कारबाही प्रक्रिया अगाडि बढाउन आवश्यक छ ।

दोहोरो नागरिकता लिएका  रामनाथ साह सोनार र सन्दीप सोनार

नागरिकता विवादमा सत्यतथ्य छानविन गरी पठाउन पठाउन जिल्ला प्रशासन कार्यालय पर्साको नाम गृह मन्त्रालयले लेखेको पत्र

नागरिका छानविनका लागि जिल्ला प्रशासन कार्याल पर्सामा परेको उजुरी

झुटा विवरण पेश गरी नेपाली नागरितका लिएका व्यक्ति भारतीय नागरिक भएको प्रमाणहरु

 



प्रतिक्रिया दिनुहोस्