Logo

संसदीय मूल्य, मान्यता र आवश्यकता मेरो मुख्य कर्तव्य : सभामुख घिमिरे



काठमाडौं, १५ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्मा आफ्नो भूमिकालाई अझ सशक्त बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

६५औँ संसद् दिवसको पूर्वसन्ध्यामा संसदीय अध्ययन तथा विकास संस्थापनाद्वारा आयोजित कार्यक्रममा सभामुख घिमिरेले दिवसको शुभकामना दिँदै सभामुखसँगै सबै सांसदहरू आफ्नो भूमिकाप्रति इमान्दार र प्रयत्नशील हुनुपर्ने बताए।

“मैले खेल्ने ‘रेफ्री’ को भूमिकाअनुसार निश्चय पनि खेलाडीलाई ठीकसँग चलाउनेछु”, उनले भने, “जहाँसम्म एउटा रेफ्रीको भूमिका हो, खेलाडीले राम्रो नखेल्दिएपछि जतिसुकै योग्य रेफ्री भए पनि त्यो खेल दर्शकका लागि हेर्न लायक हुन सक्दैन। चाहेजस्तो परिणाम ल्याउन सक्दैन।”

उनले आफू सभामुखको भूमिकाबाट विमुख नभएको स्पष्ट पार्दै भन्नुभयो, “पर्दा पछाडि सबै चलाउने उही छ। अब यसो छोपिएर चलिरहेको छ, पछाडिपट्टि यसलाई रिमोटले चलाइरहेको छ भन्ने सोच पुर्याउछ। त्यसलाई म केही भन्न सक्दिन।” उनले आफूलाई पार्टीले सभामुखको जिम्मेवारीमा पठाइसकेपछि पार्टीको हितभन्दा पनि संसदीय मूल्य र मान्यता आफ्नो मुख्य कर्तव्य भएको बताए।

सभामुख घिमिरेले धेरै प्रयासपछि संसदीय समिति गठन भएको र समितिको प्रभावकारी सञ्चालनका लागि सभापति चयन गर्नेबारे बारम्बार ताकेता गर्दा पनि विभिन्न दलका सांसदबीच सहमति र सम्झदारी जुट्न नसकेको बताए।

अन्तरक्रियाका क्रममा उपस्थित नागरिक समाजका अगुवाले संसद्मा सांसदको उपस्थिति बलियो र अर्थपूर्ण हुन नसकेको भन्दै गुनासो गरे। उनीहरूले संविधानलाई आवश्यकताअनुसार संशोधन गर्नपर्नेमा जोड दिए। रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot