Logo

गगनको प्रश्न, ‘जम्मा १० सिट जितेको पार्टीका नेतालाई पनि प्रधानमन्त्री बनाउनु पर्ने ?’



काठमाडौं, १६ असार । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले नागरिकहरु नेता र दलहरुसँग रिसाएको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले आम नागरिकमा आक्रोश देखिएको बताएका हुन् । कांग्रेसले जनतालाई भरोसा दिलाउन आवश्यक रहेको उनको भनाई छ ।

चुनाव जित्ने र सरकारमा सहभागी हुने कुरामा मात्रै पार्टी नरुमलिएर जनजीविकाको चासो र राष्ट्रियताको बारेमा चासो दिन आवश्यक रहेको उनले बताए । साथै अहिले जनताले कांग्रेसले सरकारको लागि जे पनि गर्छ, भ्रष्टाचारमा लिप्त मान्छेलाईमात्रै संरक्षण गर्छ, राष्ट्रियताको सन्दर्भमा दह्रोसँग खुट्टा टेकेर बचाउछ भन्नेमा पनि विश्वास नरहेको उनको भनाई छ ।

अहिले एउटा नागरिकले कांग्रेसलाई हेर्ने दृष्टिकोण बताउँदै उनले भने, ‘कांग्रेस सरकारको लागि जे पनि गर्छ । अर्को कोणबाट भ्रष्टाचारमा लिप्त मान्छेलाईमात्रै संरक्षण गर्छ । राष्ट्रियताको सन्दर्भमा दह्रोसँग खुट्टा टेकेर बचाउछ लाग्दैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भइरहेको कांग्रेसलाई आम नागरिकले सरकारमा सहभागी हुनका लागिमात्रै निर्वाचनमा गएको जस्तो गरी हेरेको उनले बताए । नेकपा (एकीकृत समाजवादी) का नेता माधव नेपालतर्फ लक्षित गर्दै उनले १० सिट जितेको नेतालाई डेढ वर्ष प्रधानमन्त्री बनाएर अन्तिममा कांग्रेसको तर्फबाट प्रधानमन्त्री हुने निर्णयमा आपत्ति जनाए ।

‘जम्मा १० वटा सिट जितेको नेतालाई बुई चढाएर डेढ वर्ष प्रधानमन्त्री बनाएर अन्तिममा कांग्रेसबाट प्रधानमन्त्री बन्ने किन ?’ उनले प्रश्न गरे । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot