Logo

अब कसले गर्ला कोशी सरकारको नेतृत्व ?



काठमाडौं, १६ असार । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ । हिजो (शुक्रबार) मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत नपाएसँगै उनी स्वतः पदमुक्त भएका हुन् । कोशी प्रदेशमा अब नेपाली कांग्रेस वा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने तयारी रहेको छ । कोशी प्रदेशमा एमालेले एक मत नपाउँदा सरकार ढलेको थियो ।

निवर्तमान मुख्यमन्त्री कार्की संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । एमालेले आफू नेतृत्वको सरकार ढलेपछि अब संविधानको धारा १६८(३) को अभ्यासमा जानुपर्ने बताउँदै आएको छ । यसरी एमालेको मागबमोजिम प्रदेश प्रमुखले संविधानको धारा १६८(३) प्रयोग गरेमा फेरि हिक्मत कार्कीले सरकार गठन गर्नेछन् ।

तर, प्रदेश प्रमुखले अन्य प्रदेशहरुमा यसअघि गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पनि विश्वासको विश्वासको मत नपाएर सरकार ढल्दैगर्दा त्यहाँका प्रदेश प्रमुखले संविधानको धारा १६८ (३) लाई नअपनाएर १६८ (२) कै अभ्यास दोहोर्याएका थिए । यसअघिका अन्य प्रदेशको पनि अभ्यासलाई हेरेर प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८(२) लाई नै दोहोर्याएको खण्डमा माओवादी, कांग्रेस लगायतको गठबन्धनको सरकार बन्ने निश्चित छ ।

यसरी कांग्रेस र माओवादीको सहकार्यमा सरकार बनेको खण्डमा कसले पहिले नेतृत्व गर्ने भन्नेबारेमा निर्णय भने भइसकेको छैन । सरकारको नेतृत्वका लागि माओवादी–कांग्रेस दुवै दलको दाबी रहेको नेपाली कांग्रेस कोशी प्रदेश सभाका मुख्य सचेतक भुपेन्द्र राई बताउँछन् । ‘सरकारको नेतृत्वमा हामी दुवै दलको दाबी छ । अन्ततः आलोपालो नेतृत्वको सहमतिमा पुग्छौं,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।

कूल ९३ सदस्यीय कोशी प्रदेश सभामा कांग्रेसको २९, माओवादीको (सभामुखसहित) १३, नेकपा (एकीकृत समाजवादी) को ४ र जनता समाजवादी पार्टीको १ सिट छ । एमालेसँग ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ६ सिट रहेको छ ।



प्रतिक्रिया दिनुहोस्