Logo

एमालेले जनताको पक्षमा सुरु गरेको थुप्रै कार्यक्रम सरकारले ओझेलमा पार्योः प्रदीप ज्ञवाली



काठमाडौं, १६ असार । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले एमालेले शिलान्यास गरेको तीन सय ९६ वटा अस्पताल अलपत्र अवस्थामा छोडेको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको सरकारले गाउँमै हस्पिटल, गाउँमै डाक्टर, खल्तीमा स्वास्थ्य विमाको कार्डको अवधारणा ल्याएर नागरिकलाई स्वास्थ्य सेवा दिने कोशिस गरेपनि त्यो कार्यक्रममा सरकारले बजेट नछुट्याएको बताएका हुन् । उनले सरकारले स्वाथ्य विमा कार्यक्रम खारेज गर्न लागेकोसमेत खुलासा गरे ।

एमाले सरकारमा नहुँदा श्रमजीवी वर्गका पक्षमा सुरु भएका थुप्रै कार्यक्रम राज्यले खोस्न लागेको उनको आरोप छ । एमालेले देशभरका तीन सय ९६ वटा पालिकामा शिलान्यास गरेको अस्पताल निर्माण कार्य सम्पन्न भएको खण्डमा थुप्रै नागरिक उपचारका लागि काठमाडौं आइपुग्न नपर्ने उनको भनाई छ ।

‘राज्य कसको हातमा छ ? कुन वर्गको पक्षधर राज्य छ भन्ने कुराको फरक पर्दोरहेछ । हामी नहुँदा श्रमजीवि जनताको पक्षमा सुरु गरिएका थुप्रै कार्यक्रमहरु ओझेलमा पारिँदैछन् । खोसिँदैछन् । निस्प्रभावी पारिँदैछन् । बजेट दिइएको छैन । हामीले एकैदिन ३९६ वटा पालिकामा आधारभूत अस्पतालको शिलान्यास गर्यौ ।’ उनले भने, ‘ति अस्पताल सम्पन्न भएको भए सानातिना समस्याका लागि मान्छे काठमाडौं धाउन पर्ने थिएन । गाउँमै हस्पिटल, गाउँमै डाक्टर, खल्तीमा स्वास्थ्य विमाको कार्ड । नागरिकलाई बचाउने उपाय त यही हो नि । आज ति अस्पतालहरु अलपत्र पारिएका छन् । एमालेको नाम आउँछ, एमालेले शिलान्यास गरेको भनेर ।’



प्रतिक्रिया दिनुहोस्