Logo

नेकपा व्युँताउने कसरतमा प्रचण्ड–माधव, के गर्लान् ओली ?



काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा विभाजनबाट शिक्षा लिएर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । आज (आईतबार) आज (आईतबार) भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले नारायणविलास जोसीको श्रद्धा र सम्मान प्रकट गर्दैगर्दा विगतबाट शिक्षा लिएर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन् ।

‘एमाले र माओवादी मिलेर बनेको नेकपा बचाउन नसकेको स्मरण गर्दै उनले भने, ‘त्यो एकतालाई बचाएर, राष्ट्रको हितमा, जनताको हितमा र समाजवादको हितमा जाने जो प्रचुर सम्भावना थियो, त्यो बचाउन सकिएन । म अहिले कसैलाई दोषारोपन गर्न उभिएको छैन । कमरेड नारायण विलास जोसीप्रति श्रद्धा र सम्मान प्रकट गर्दैगर्दा हामीले एक पटक असफल भएपनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नु पर्दछ,’– उनले भने ।

विश्वभरीकै कम्युनिष्ट आन्दोलनको इतिहास, एकता, संघर्ष, विभाजन र फेरि रुपान्तरण फेरि एकता, संघर्ष यसरी नै अगाडि बढेको उनको दाबी छ । नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यही नियम अनुसार नै अगाडि बढेको उनले बताए । नेपालको कम्युनिष्ट आन्दोलन बच्न नसक्नुमा एक पटक गम्भीर समीक्षा गर्न आवश्यक रहेको उनले बताए ।

‘आज हामीले फेरि एकचोटी विचार गर्नु परेको छ । सबैले चिन्तन गर्नुपर्यो, हिजो के कारणले एकीकृत भएको कम्युनिष्ट आन्दोलन बच्न सकेन ? विचारमा कहाँ त्रुटि थियो, राजनीतिमा कहाँ त्रुटि थियो ? के प्रवृत्तिका कारणले हाम्रो विभाजन भयो भन्ने समीक्षा गरेर, त्यसबाट शिक्षा लिएर हामीले अगाडि जाने जमर्को गर्नुपर्छ,’– उनले भने ।

अहिले माधवकुमार नेपाल, विप्लव, उपेन्द्र यादव र माओवादीसहित समाजवादी मोर्चा बनाएर वामपन्थी एकताको पहल भइरहेको उनले बताए । साथै माधव नेपाल र आफ्नो नेकपातिरै फर्कने सल्लाह भएको पनि उनले बताए ।

‘मैले र माधव जीले के भनेका छौं भने फेरि नेकपा तिरै फर्कन पर्दछ भनेका छौं । आज संस्थापक नेता नारायण विलास जोसीलाई सम्मान गदैृगर्दा हामी त्यो दिशामा दृढताको साथ अझ अगाडि बढ्न सकौं,’– उनले भने ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेकपा बनेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीचको इगोका कारण नेकपाको अवसान भएको थियो । प्रचण्डले अहिले मोर्चा बनाएर नेकपा व्युँताउने प्रयास गरिरहँदा ओलीले भने यसलाई सत्ता गोजाउने प्रपञ्चको रुपमा लिएका छन् । प्रचण्डकै कारण तत्कालीन नेकपा विभाजन भएको ओलीको आरोप छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot